उद्योग वाणिज्य संघ सिम्रौनगढको सातौं अधिवेशन सम्पन्न

सिम्रौनगढ, बारा — कार्तिक १५,
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका अन्तर्गत रहेको बारा उद्योग वाणिज्य संघ शाखा कार्यालय सिम्रौनगढको दशौं साधारण सभा तथा सातौं अधिवेशन आज सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु कुशवाहाको अध्यक्षतामा तथा कलैया उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सो कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष रामबाबु कुशवाहाले सिम्रौनगढ उद्योग वाणिज्य संघमा हालसम्म ८८ जना व्यापारी मात्र आवद्ध भएको जानकारी दिँदै नयाँ नेतृत्वले व्यापारीहरूलाई थप संगठित र सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले कलैया उद्योग वाणिज्य संघसँग सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्न माग गर्नुपर्ने सुझाव समेत दिनुभयो।
महासचिव राम असिस साहले व्यापारीको समस्या केवल सिम्रौनगढकै नभई देशव्यापी रहेको बताउँदै, “यहाँका नेताहरूले व्यापारीका पक्षमा ठोस कदम चाल्नुपर्छ,” भन्दै युवाहरुलाई अग्रसर भएर नेतृत्वमा आउन आग्रह गर्नुभयो। उहाँले सुरक्षा निकायलाई पनि व्यापारीसँग नरम व्यवहार गर्न अनुरोध गर्नुभयो।
सोही अवसरमा बिशिस्ट अतिथि तथा सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी साह कलवारले आजको अधिवेशनलाई ऐतिहासिक अवसर भन्दै सबै व्यापारी एकजुट भई शुद्ध र सक्षम कार्यसमिति गठन गर्न आग्रह गर्नुभयो।

सो उदघाट्न सत्रका प्रमुख अतिथि राजकुमार साहले सीमावर्ती क्षेत्रमा व्याप्त समस्याबारे अर्थमन्त्रीसम्म जानकारी गराइसकेको बताउँदै, “हामी भारतमा सस्तो सोचेर महँगो सामान किनेर ल्याउँछौं, तर हाम्रो बजारमा नै सस्तो वस्तु उपलब्ध छ भन्ने जनचेतना फैलाउनुपर्छ,” भन्दै व्यापारीमा सचेतना र एकता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा महिलालाई पनि अग्रभूमिमा ल्याएको र आगामी दिनमा समेत साथ–सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमका अध्यक्ष लालबाबु कुशवाहाले सिम्रौनगढका व्यापारीका समस्या समाधानका लागि दुई पटक भन्सारका विषयमा काठमाडौं पुगेको तर सफलता नपाएको स्मरण गर्दै आगामी दिनमा सक्रिय युवाहरुलाई नेतृत्वमा ल्याउन आग्रह गर्नुभयो।
कार्यक्रममा कलैया उद्योग वाणिज्य संघका महासचिव राम असिस साह, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, सिम्रौनगढ उद्योग वाणिज्य संघका सचिव रामबाबु कुशवाहा, वडा अध्यक्षहरू, सशस्त्र प्रहरी बल गोलागञ्जका प्रमुख, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रतिनिधि, उतम पब्लिक स्कुल का प्रधानाध्यापक कमलेश कुशवाहा , श्री ने रा मा बि का बिधालय ब्यवस्थापन समिति का अध्यक्ष दिपेन्द्र कुशवाहातथा विभिन्न व्यापारीहरूको सहभागिता रहेको थियो।
सो कार्यक्रमको सञ्चालन पप्पु यादवले गर्नुभएको थियो। 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close