पचरौतामा १५१ किलो गाँजा बरामद, तस्कर प्रहरीलाई देखेपछि खेतमा पोका फालेर फरार

बारा । बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीको संयुक्त टोलीले शनिबार राति धानखेतमा एम्बुस थापेर निगरानी गर्ने क्रममा १५१ किलो गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मिति २०८३ भदौ २० गते राति करिब १०ः३० बजे प्रहरी चौकी श्रीनगर बैरिया र सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीको संयुक्त टोलीले पचरौता नगरपालिका–७ स्थित बेनौली चोकदेखि करिब ३०० मिटर पूर्व धानखेतको आलीमा एम्बुस थापेर बसेको थियो।
सो क्रममा एकतर्फबाट ८–९ जना अपरिचित व्यक्तिहरूले पिठ्युँमा झोलाजस्तो बनाएर शंकास्पद वस्तु बोकी आउँदै गरेको प्रहरी टोलीले देखेको थियो। प्रहरीले उनीहरूलाई रोक्न तथा नियन्त्रणमा लिन खोज्दा समूहले प्रहरीलाई देखेर आफूले बोकेका सामान धानखेतमा फालेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलमा खोजतलास गर्दा जुटको बोरामा प्याक गरिएको गाँजा फेला पारेको थियो। बरामद गाँजा तौल गर्दा ९ वटा पोकामा जम्मा १५१ किलो रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रत्येक पोकामा औसत १६.७७ किलोका दरले गाँजा रहेको थियो।
बरामद गरिएको गाँजा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा ल्याइएको प्रहरी निरीक्षक कृष्णदेव साहले जनाएको छ।
गाँजा बोकेर आएका व्यक्तिहरू प्रहरीलाई देख्नेबित्तिकै खेतको बाटो हुँदै फरार भएकाले उनीहरूको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय सीमावर्ती क्षेत्रबाट लागूऔषध ओसारपसार बढ्दै गएको अवस्थामा प्रहरीले थालेको एम्बुस तथा संयुक्त गस्तीबाट ठूलो परिमाणमा गाँजा बरामद हुनुले सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करीको सञ्जाल सक्रिय रहेको संकेत गरेको छ। फरार व्यक्तिहरू पक्राउ परेपछि गाँजा कहाँबाट ल्याइएको र कहाँ पुर्‍याउने तयारी थियो भन्ने विषयमा थप तथ्य खुल्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close