प्रहरीको सफलता अपराध नियन्त्रणमा मात्र होइन, नागरिकको विश्वासमा पनि निर्भर

बारामा ७१औँ प्रहरी दिवस मनाइयो, अमर प्रहरीका परिवार र उत्कृष्ट प्रहरी सम्मानित

बारा, असोज ३०। नागरिकले प्रहरीमाथि कति विश्वास गर्छन् र पीडितले न्याय पाउन कति सहजता महसुस गर्छन् भन्ने कुराले प्रहरी सेवाको वास्तविक प्रभावकारिता निर्धारण गर्ने सरोकारवालाले बताएका छन्। नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ का अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय बारामा आयोजित कार्यक्रममा निष्पक्ष, व्यावसायिक र उत्तरदायी प्रहरी सेवामा जोड दिइएको हो।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले प्रहरीलाई नागरिकको विश्वासको केन्द्र बनाउन सेवाप्रवाहमा निष्पक्षता र व्यावसायिकता अनिवार्य रहेको बताए। अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा नागरिकको जीउधनको संरक्षणमा प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले बदलिँदो परिस्थितिअनुसार प्रहरी संगठनलाई स्रोतसाधनयुक्त र सक्षम बनाउनुपर्ने धारणा राखे।

प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै जिम्मेवार सेवा प्रवाह सुनिश्चित गर्न सके मात्र संगठनप्रति नागरिकको भरोसा बलियो हुने उनको भनाइ थियो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले प्रहरीको सफलता अपराध नियन्त्रणको तथ्याङ्कमा मात्र सीमित नहुने बताए। नागरिकले समाजमा कति सुरक्षित महसुस गरेका छन्, पीडितले न्यायमा कति सहज पहुँच पाएका छन् र प्रहरीप्रति जनविश्वास कस्तो छ भन्ने आधारमा प्रहरी सेवाको मूल्याङ्कन हुनुपर्ने उनले उल्लेख गरे।

कर्तव्यपालनका क्रममा हालसम्म नेपाल प्रहरीका एक हजार ७९३ जना अधिकृत तथा जवानले वीरगति प्राप्त गरेको जानकारी दिँदै कुँवरले उनीहरूको योगदानको स्मरण गरेका थिए।

दिवसका अवसरमा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रहरीको काममा सहयोग पुर्‍याउने विभिन्न संघसंस्थालाई कदरपत्र प्रदान गरिएको थियो।

यसैक्रममा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै साझेदारी राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक श्यामबाबु प्रसाद यादव र उज्यालो न्युज डटकमका सञ्चालक धीरेन्द्र तिवारीलाई कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना सन्देश प्रहरी सूचना अधिकारी मीनबहादुर घलेले वाचन गरेका थिए। प्रहरी संगठनका पूर्वअध्यक्ष एवं प्रहरी नायब निरीक्षक जंगबहादुर यादव र जिल्ला सरकारी वकिल कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता विष्णुप्रसाद पौडेलले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा जिल्लाका प्रशासनिक अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, अमर प्रहरीका परिवारजन, पूर्वप्रहरी, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो।

प्रहरी दिवसले प्रहरीको योगदानको सम्मानसँगै नागरिकमैत्री सेवा, निष्पक्षता र जवाफदेहितालाई व्यवहारमा उतार्नुपर्ने सन्देश दिएको छ। नागरिकको विश्वास जित्न सके मात्र प्रहरी संगठनको व्यावसायिक प्रतिष्ठा थप मजबुत हुने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close