कमरेड हरिहर यादवको सम्झनामा कचोर्वामा श्रद्धाञ्जली

– रामबाबु मेहता,बाराको कचोर्वामा आज कमरेड हरिहर यादव को सम्झना मा आज सिमरौनगढ नगर पालिकाको कचोर्वा गाउँमा उनको सलिकमा स्थानीय बासीले फुलमाला चढाइ श्रद्धाञ्जली सभा गरेका हुन । केपमा माओवादी का स्थानीय युवा नेता भोगेन्द्र यादवको अध्यक्षतामा भएको सो सभामा युवा नेता नागेन्द्र यायव, रामेश्वर यादव , रामबाबु यादव वाडा अध्यक्ष राम एकवाल लगाएकाले उहाको योगदानको बारेमा चर्चा  गर्नु भएको छ । सोही प्रसङ्ग  स्व यादवको जिवनी र योग्दानको बारेमा भाषा आयोग का आध्यक्ष स्थानीय गोपाल ठकुरले त्यार पार्नु भएको उहाँको जिवनीको बारेमा छोटो जानकारी यस प्रकारले दिनु भएको छ । म पाँचौं–छैठौं कक्षामा पढ्दै थिएँ, हाम्रो टोलमा बस्ने एकजना साधुबाबाले एकदिन मलाई बोलाउनुभयो । जब म उहाँकोमा गएँ, उहाँले मलाई एकदम पातलो एउटा किताब दिनुभयो । त्यसमा एउटा चित्र बनेको थियो — केही मानिसहरू ‘हामीलाई स्वतन्त्रता चाहियो !’ भन्ने नारा लगाइरहेका थिए । माथि “मुक्ति मार्ग” लेखिएको थियो र तल लेखकको नाम “हरिहर यादव” लेखिएको थियो ।

साधु बाबा भनेर चिनिने बाबुलाल बाबाले मलाई त्यो किताब पढ्न दिनुभयो । कविताहरू लयमा लेखिएका थिए, र “तर्जः राधेश्याम” भनेर शीर्षमा लेखिएको थियो । त्यो लय र विषयवस्तुले मलाई निकै छोयो । विषय मैले पूर्ण बुझ्न सकिनँ, तर केही कुरा मनमा पर्‍यो ।

त्यो समयमा म राज्य भन्ने कुरा स्थायी र अपरिवर्तनीय हो भन्ने सोच्ने गर्थें । म नेपालका पंचायती शासनलाई पूर्ण र निर्विवाद मान्थें — यो त्यतिबेलाको शिक्षा प्रणालीकै प्रभाव थियो । तर त्यो किताबले मलाई बुझायो कि “राज्य समाजको विकासक्रममा बनेको संरचना हो र परिवर्तनसँगै अन्त्य पनि हुन सक्छ ।”

पछि म फेरि त्यो किताब पढ्न थालेँ । लेखक हरिहर यादव हाम्रो गाउँ कचोर्वा का हुन् भन्ने थाहा पाएँ । म अचम्ममा परेँ — आफ्नै गाउँका त्यस्तो प्रतिभाशाली लेखकबारे मलाई पहिले थाहा थिएन ।

बाबुलाल बाबाबाट थाहा भयो — राजा महेन्द्रले २०१७ सालमा दलहरूमा प्रतिबन्ध लगाएपछि जनकवि हरिहर यादव भारतमा निर्वासनमा रहनुभएको रहेछ । त्यो कुरा सत्य पनि थियो, किनभने २०१८ सालमा मेरो जन्म भएकोले म उहाँलाई कसरी चिन्दैथें र! पछि पनि उहाँका किताबहरू भेटिनँ, न उहाँका बारेमा धेरै सुन्न पाइयो । कहिलेकाहीँ मेरा बाबुले घोडासहनमा उहाँसँग भेट भएको कुरा गर्थे, त्यत्तिकै ।

समय बित्दै गयो । म म्याट्रिक पास गरेर आफ्नै विद्यालय — श्री जय किसान माध्यमिक विद्यालय, धरहरी (रौतहट) — मा प्रशासनिक सहायकको रूपमा काम गर्न थालेँ र गृहस्थ जीवनमा प्रवेश गरेँ ।

त्यसैबेला तत्कालीन पाकिस्तानी प्रधानमन्त्री शेख जुल्फिकार अली भुट्टो लाई सैनिक शासक जियाउल हक ले फाँसी दिएको घटनाको विरोधमा नेपालमा विद्यार्थी आन्दोलन चर्कियो । त्यसकै फलस्वरूप राजा वीरेन्द्रले २०३६ साल जेठ १० गते सुधारसहितको निर्दलीय पंचायती व्यवस्था वा बहुदलीय व्यवस्थामध्ये एक रोज्ने जनमत संग्रह गर्ने घोषणा गर्नुपर्‍यो ।

बहुदलीय व्यवस्थाको पक्षमा प्रचार अभियान चलिरहेको बेला म पनि त्यसमा सक्रिय भएँ । गर्मी बिदामा घर आएको थिएँ, त्यही बेला हाम्रो गाउँमा नेपाल कम्युनिस्ट पार्टीको प्रचार सभा हुने भनेर माइकिङ सुनेँ । पछि थाहा भयो — सो सभामा जनकवि हरिहर यादव पनि सम्बोधन गर्न आउँदै हुनुहुन्छ ।

साँझ सभा सुरु भयो । म निकै उत्साहित भएर कचोर्वा बजार पुगेँ । मैले मनमनै सोचें — जनकवि हरिहर यादव त नक्कै ठूलो शरीरका, चम्किला कपडा लगाउने, प्रभावशाली व्यक्तित्व भएका होलान् । तर सभामा त्यस्तो कुनै व्यक्तित्व देखिएन । म सोचें, सायद उहाँ आएनन् होला ।

त्यति बेलामा खादीको कुर्ता र मर्दानी लगाएका एकजना मध्यम उमेरका व्यक्ति केही युवाहरूमाथि माइकको ब्याट्रीबारे झर्किनुहुँदै थिए । त्यो बेला गाउँमा बिजुली नै थिएन, त्यसैले माइक ब्याट्रीमा चल्थ्यो । पछि थाहा भयो — ती व्यक्ति नै हरिहर यादव हुनुहुन्थ्यो ।

मलाई विश्वासै लागेन — दुब्लो-पातलो, सामान्य देखिने त्यो व्यक्तिले “मुक्ति मार्ग” लेख्न सक्नुहुन्छ भनेर । तर उहाँले बोल्न सुरु गरेपछि श्रोताहरूको भीड बढ्दै गयो । उहाँले हिन्दी भाषामा, तर भोजपुरी लवज मिसाएर, कथा, लोकोक्ति, र गीत मिसाउँदै बोल्दै जानुभयो ।

उहाँले राजा र सामन्तवादको अन्त्य गराउने सर्वहारा वर्गको शक्ति बारे जोशिलो भाषण गर्नुभयो । बीचमा उहाँले एउटा कथा सुनाउनुभयो, जसमा जातीयता र वर्गीय चेतनाले भरिएको सन्देश थियो —

गाउँमा सेढुमल नामका एकजना पण्डित थिए, धनी जमीन्दार र पुरोहित दुवै । त्यसै गाउँमा विपत महरा नामका चमार मजदुर पनि थिए । फागुन सकिएपछि गहुँ काट्ने बेला आयो, विपतले पण्डितको गहुँ काटेर कोठीभरि राखिदियो । केही दिनपछि मेला पर्न लाग्यो, विपतले केही गहुँ माग्न पण्डितकहाँ गयो, तर पण्डितले जातका कारण दिन मानेनन् ।

त्यो प्रसङ्गमा हरिहर यादवले गीतमार्फत यस्तो भनेका थिए —

“ई त हउअन गहुँआ देवता शूद्र के घर में जइहेन ना,
जब रहिहन त विप्र का घरे बेर्ही कोठी मुनइहेन ना।”

(यी त गहुँका देवता हुन्, शूद्रको घरमा जान्नन्,
जुनसम्म विप्रको घरमा रहन्छन्, त्यत्तिकै सुखका साधन बन्द रहन्छन् ।)

पछि वर्षा परेपछि विपतलाई खेत जोत्न बोलाइयो, तर उसले पनि भन्यो —

“हर त हउअन साक्षात महादेव, शूद्र के कान्ह पर चढिहेना ना,
जब चढिहेना त विप्र के कान्ह पर, न त चुल्ही में जरिहेना ना।”

(हरि त साक्षात महादेव हुन्, शूद्रको काँधमा चढ्दैनन्,
जब चढ्दैनन् त विप्रकै काँधमा चढून्, नत्र चुल्होमा जलून् !)

त्यो कथा र गीतले ममाथि गहिरो छाप छोड्यो । मलाई लाग्यो — हरिहर यादव पक्कै उच्च शिक्षित, विद्वान व्यक्ति होलान् । तर पछि थाहा भयो — उहाँ औपचारिक रूपमा विद्यालयसम्म पुगेको पनि थिएन । तर जीवनकै अनुभव र संघर्षबाट ज्ञान लिने जनपाठशालाका विद्यार्थी बन्नुभयो ।

उहाँको जन्ममिति सटीक छैन । १९९० सालको भूकम्प आफैंले अनुभव गरेको भन्नुहुन्थ्यो, त्यस आधारमा उहाँको जन्म १९८५ सालतिर भएको अनुमान छ । उहाँ तत्कालीन पटवारी लालबहादुर राय यादव का कान्छा छोरा हुनुहुन्थ्यो । घरमै केही शिक्षा लिनुभयो । धार्मिक ग्रन्थ पढ्न, भजन–कीर्तन गाउन मन पराउनुहुन्थ्यो । तर सोचचाहिँ द्वन्द्वात्मक र प्रश्नपूर्ण थियो — “संसारमा श्रम गर्ने, भोकाउने, उघ्र्याउने मानिसहरू सधैं दुःखी किन ? भगवानले तिनीहरूको आवाज किन नसुन्‍ने ?”

२००७ सालको क्रान्तिमा उहाँ सक्रिय सहभागी हुनुभयो । कचोर्वा प्रहरी चौकीमाथिको कब्जा पनि उहाँकै नेतृत्वमा भएको भनाइ छ । प्रजातन्त्रको घोषणा भएपछि पनि राजशाहीप्रति असन्तुष्ट रहनुभयो ।

२००८ सालमा नेपाल कम्युनिस्ट पार्टीका नेतासँग भेट गरी पार्टीमा प्रवेश गर्नुभयो । त्यसपछि अखिल नेपाल किसान संघ मार्फत किसान आन्दोलनमा नेतृत्व लिनुभयो । २००९, २०११ र २०१३ सालका बारा–रौतहट क्षेत्रका किसान आन्दोलनमा अग्रणी भूमिकामा रहनुभयो र दुई वर्ष जेलसमेत खानुभयो ।

२०१७ सालपछि निर्वासन र भूमिगत जीवन बिताउँदै उहाँ अखिल नेपाल किसान संघका केन्द्रीय अध्यक्ष तथा नेकपा (माले) र नेकपा एकीकरणपछि बनेको नेकपा (एमाले) का पहिलो केन्द्रीय संयोजन समितिका सदस्य पनि हुनुभयो ।

तर २०४८ सालको संसदीय निर्वाचनमा उम्मेदवार नबनाइएपछि उहाँ नेकपा (एमाले) छाडेर नेकपा (संयुक्त मार्क्सवादी) मा जानुभयो । अन्ततः २०६१ साल कात्तिक ८ गते उहाँको निधन भयो ।

आज पनि मधेसमा जन्मिएर वर्ग–संघर्षको बाटो समातेका हरिहर यादवजस्ता व्यक्तिहरूको योगदान कम्युनिस्ट इतिहासमा ओझेलमा पारिएको छ । समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा सबैले गर्ने तर व्यवहारमा मधेसी, श्रमिक र किसानका आवाजलाई बेवास्ता गर्ने प्रवृत्ति अझै छ ।

कम्युनिस्ट पार्टीहरूमा नेतृत्व विकासको अवसर सबै समुदायलाई समान रूपमा दिइएको भए मधेसमा पनि कम्युनिस्ट आन्दोलन बलियो हुन्थ्यो । अब साम्प्रदायिक सोच र छद्म राष्ट्रवादका पर्दामुनि सत्य लुकाउन सकिँदैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close