आजदेखि नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आजदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुने दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ। अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन आज दिउँसो २ः३० बजे काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने भएको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उद्घाटन कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ।
सरकारको कार्यशैलीप्रति विरोध जनाउँदै आएको नेकपाले त्यसैको पृष्ठभूमिमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको हो। पार्टीले अभियानमार्फत आफ्नो राजनीतिक धारणा जनस्तरसम्म पुर्याउने तयारी गरेको छ।
आज हुने पत्रकार सम्मेलनमा अभियानको उद्देश्य, सञ्चालन प्रक्रिया र आगामी कार्यक्रमबारे पार्टी नेतृत्वले थप जानकारी दिने अपेक्षा गरिएको छ। मंसिर २५ गतेसम्म चल्ने अभियानले देशव्यापी रूपमा कस्तो राजनीतिक गतिविधि अघि बढाउँछ भन्ने विषयमा चासो बढेको छ।






