पचरौतामा निःशुल्क आँखा उपचारले सयौँको जीवनमा


बारा,मंसिर २८। बाराको पचरौता नगरपालिकाले स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यसहित आयोजना गरेको तीन दिने निःशुल्क बृहत् आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। हेटौडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा वडा नम्बर–७ बेनौलीस्थित स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिएका छन्।

मंसिर २५ गतेदेखि २७ गतेसम्म सञ्चालित शिविरमा विशेष गरी मोतियाबिन्दुबाट पीडित नागरिकलाई लक्षित गरी उपचार तथा शल्यक्रिया सेवा प्रदान गरिएको थियो। लामो समयदेखि आँखाको समस्याबाट पीडित सर्वसाधारणले निःशुल्क रूपमा उपचार पाउँदा राहत महसुस गरेका छन्।

नगर प्रमुख जलन्धर सिंहले दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि आँखा उपचार सहज बनाउने उद्देश्यले शिविर आयोजना गरिएको बताउँदै, सेवाभावका साथ कार्य सम्पन्न गर्ने हेटौडा सामुदायिक आँखा अस्पतालको टोलीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले समयमै रोग पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।

स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद साहका अनुसार शिविर अवधिमा कुल २०७ जना मोतियाबिन्दु रोगीको सफल शल्यक्रिया गरिएको छ भने आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो। स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध हुँदा बिरामीलाई बाहिर जानुपर्ने बाध्यता कम भएको उहाँले बताउनुभयो।

पालिकाले आगामी दिनमा पनि नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी यस्ता जनमैत्री कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close