भन्सार छली गरी ल्याइएका करिब ४ लाख ७० हजार रुपैयाँ बराबरका सामानसहित सिम्रौनगढ बाट तीन जना पक्राउ

बारा, २३ असार । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न विद्युतीय सामग्रीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले करिब ४ लाख ७० हजार रुपैयाँ मूल्य बराबरका सामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाएको जनाएको छ। 
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ असार २२ गते राति करिब ११ बजे सिम्रौनगढ नगरपालिका–९ स्थित वैरिया हनुमान मन्दिर क्षेत्रबाट उत्तरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ह ३२८८ नम्बरको ई–रिक्सा र भारतको नम्बर प्लेट BR06Z6215 भएको मोटरसाइकललाई प्रहरी चौकी श्रीनगर वैरियाबाट खटिएको प्रहरी टोलीले शंका लागेपछि जाँच गरेको थियो। 
जाँचका क्रममा ई–रिक्सामा लोड गरिएका सामानका सम्बन्धमा आवश्यक भन्सार तथा खरिदसम्बन्धी कागजात प्रस्तुत गर्न नसकेपछि ती सामान भन्सार छली गरी ल्याइएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद गरिएको सामान, ई–रिक्सा र मोटरसाइकलसहित संलग्न व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकामध्ये मोटरसाइकल चालक भारतको बिहार राज्य मोतिहारी निवासी २२ वर्षीय अमन सिंह, मोटरसाइकलमा पछाडि सवार भारतको बिहार राज्य मोतिहारी जिल्ला बनकटवा प्रखण्ड बिजबनी निवासी २० वर्षीय अमर कुमार तथा ई–रिक्सा चालक बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–७ कमलपुर निवासी ५० वर्षीय खजान्ती साह रहेका छन्।
बरामद गरिएका सामानमा २ थान Exide 12 भोल्ट ब्याट्री, १ थान Eastman 105 AH ब्याट्री, १ थान Microtek इन्भर्टर, १ थान चिनियाँ ब्रान्डको ई–रिक्सा तथा भारतमा दर्ता भएको मोटरसाइकल रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ताका अनुसार बरामद सामानमध्ये Exide ब्याट्रीको मूल्य २० हजार रुपैयाँ, Eastman ब्याट्रीको ६० हजार रुपैयाँ, Microtek इन्भर्टरको ४० हजार रुपैयाँ, ई–रिक्साको ३ लाख २० हजार रुपैयाँ र मोटरसाइकलको ३० हजार रुपैयाँ गरी कुल ४ लाख ७० हजार रुपैयाँ बराबरको सामान बरामद भएको हो।
नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै भन्सार छलीका घटनाहरू बढ्दै गएको अवस्थामा बारा प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाएको जनाएको छ। पछिल्लो समय नियमित चेकजाँच र विशेष निगरानीका कारण अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधि नियन्त्रणमा आउन थालेको प्रहरीको दाबी छ। प्रहरीले यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।





