बारा एकै गाउँका तीन जनाको मृत्यु , बिशाक्त मदिरा सेवनको आशंका

३१ भदौ ,बारा । बाराको सुवर्ण गाउँपालिका–३ पचगछिया टोलमा सोमबार राति तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये करिब ४५ वर्षीय गोपाल यादव, ५० वर्षीय ऐजाजुल मिया र २७ वर्षीय रामसुरथ यादव रहेको स्थानीयले जनाएको छ । तीनै जनाले आइतबार सोही टोलमा सञ्चालित एउटा मदिरा पसलबाट रक्सी सेवन गरेका थिए । त्यसपछि सोमबार बेलुकीदेखि राति आठ बजेसम्म उनीहरूको मृत्यु भएको वडाध्यक्ष राम क्षेत्री यादवले जानकारी दिए। स्थानीयका अनुसार पसल राम भरोस यादवले सञ्चालन गर्दै आएका थिए ।

यसअघि पनि बारा, विशेषगरी सिमावर्ती गाउँहरूमा अवैध रूपमा सञ्चालन भइरहेका भट्टीका कारण मानिसको ज्यान जाने घटना दोहोरिँदै आएको छ । बरियारपुर लगायतका क्षेत्रमा यसै प्रकारका घटनामा ज्यान गुमाइसकिएको उदाहरण स्थानीयले स्मरण गरेका छन् ।घटनाबारे प्रतिक्रिया दिँदै बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले औपचारिक जानकारी नआए पनि आवश्यक अनुसन्धान अघि बढाइने बताए । सिमावर्ती क्षेत्रमा अवैध मदिरा भट्टी सहजै सञ्चालन भइरहेका छन् । प्रहरीको नियमन कमजोर हुनुका साथै मासिक नजराना उठाउने चलनले यस्ता गतिविधि खुलेआम बढ्न सहयोग पुगेको स्थानीयवासीको धारणा छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close