सिम्रौनगढ बैल बजारमा बनेका घर–टहरा हटाउन ३५ दिने सूचना, नहटाए डोजर प्रयोग गरिने

सिम्रौनगढ, बारा — नगरपालिकाले गुठीको जग्गामा अनाधिकृत रूपमा बनाइएका घर–टहरा हटाउन ३५ दिनको समयसीमा दिएको छ। नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र संरचना खाली नगरे डोजर प्रयोग गरी हटाइने र खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुल गरिने जनाएको हो।
सूचनाअनुसार गुठी संस्थान शाखा कार्यालय वीरगंजबाट प्राप्त पत्रका आधारमा नगरपालिकाअन्तर्गत श्री कंकाली माई मन्दिर गुठीको नाममा रहेको वडा नं. ९ स्थित कित्ता नं. १ को र ४ क्षेत्र फल ०-१२-१० र ०-१५-० बैल बजार (बैलघटी)को जग्गामा विभिन्न व्यक्तिले अनाधिकृत रूपमा घर–टहरा निर्माण गरी अतिक्रमण गरेको पाइएको छ। उक्त अतिक्रमित क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र स्वयं खाली गर्न नगरपालिकाले आग्रह गरेको छ।
तोकिएको समयसीमाभित्र खाली नगरे नगरपालिकाले नियमअनुसार आफ्नै डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने सूचनामा उल्लेख छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरबहादुर साहले सार्वजनिक हित र गुठीको जग्गा संरक्षणका लागि यो निर्णय गरिएको जनाउँदै सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेका छन्।






