कलैया उपमहानगरले संस्थागत विद्यालयलाई दियो निर्देशन : वैशाख महिनाको शुल्क नलिन र अग्रिम शुल्क फिर्ता गर्न आग्रह
बारा, २३ असार। कलैया उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०८३ सम्बन्धी नेपाल सरकारको निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरेको छ। शिक्षा, युवा तथा खेलकुद शाखाले २०८३ असार २३ गते जारी गरेको पत्रमार्फत विद्यालयहरूलाई विद्यार्थी भर्ना, शुल्क संकलन तथा शैक्षिक सत्र सञ्चालनसम्बन्धी प्रचलित कानुनी व्यवस्था पालना गर्न निर्देशन दिएको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरको पत्र तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनलाई आधार बनाउँदै उपमहानगरले शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेदेखि र कक्षा सञ्चालन वैशाख २१ गतेदेखि सुरु भएको जानकारी गराएको छ। साथै शिक्षा नियमावली, २०५९ को परिच्छेद १५ अनुसार शैक्षिक सत्र सुरु नभएसम्म नयाँ विद्यार्थीको भर्ना गर्न नहुने व्यवस्था रहेको पनि स्मरण गराइएको छ। 
पत्रमा कानुनअनुसार विद्यार्थी भर्ना भएपछि मात्र शुल्क लिन पाइने उल्लेख गर्दै शैक्षिक सत्र सुरु हुनुअघि कुनै विद्यालयले अग्रिम शुल्क असुलेको भए तत्काल सम्बन्धित अभिभावकलाई फिर्ता गर्नुपर्ने स्पष्ट गरिएको छ। त्यस्तै, सरकारको निर्देशनअनुसार शैक्षिक सत्र २०८३ को वैशाख महिनाको शुल्कसमेत मिनाहा गर्नुपर्ने विषयमा विद्यालयहरूको ध्यानाकर्षण गराइएको छ।
उपमहानगरपालिकाले सर्वोच्च अदालतको आदेश तथा मन्त्रालयको निर्देशनअनुसार नै यो परिपत्र जारी गरिएको जनाएको छ। शिक्षा शाखा प्रमुख राजीव कुमार यादव द्वारा हस्ताक्षरित उक्त पत्रमा सबै संस्थागत विद्यालयलाई निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
पछिल्ला दिनहरूमा निजी विद्यालयहरूले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुलेको भन्दै अभिभावकबाट गुनासो आइरहेका बेला कलैया उपमहानगरपालिकाले जारी गरेको यो निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउनुपर्ने अभिभावकहरूले माग गरेका छन्। अब उपमहानगरले निर्देशन कार्यान्वयनको अनुगमन र उल्लङ्घन गर्ने विद्यालयमाथि आवश्यक कारबाही गर्छ वा गर्दैन भन्ने विषय चासोको रूपमा हेरिएको छ।






