आदर्श कोतवाल गाउँपालिकामा युवा अभियन्तामाथि दमन — भ्रष्टाचार ढाकछोप गर्ने प्रयासको आरोप

रामबाबु मेहता १४ कार्तिक । बाराको आदर्श कोतवाल गाउँपालिकामा निरन्तर भइरहेका भ्रष्टाचार र बेथितिको विरोधमा उत्रिएका युवा सामाजिक अभियन्ता प्रदिप कुशवाहा र दिवेश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाले स्थानीयवासी आक्रोशित बनेका छन् । नागरिकहरूले उक्त गिरफ्तारीलाई “लोकतन्त्र माथिको खुला प्रहार” भनेका छन् ।
स्थानीय स्रोतका अनुसार, वर्षेनी पालिकाले घटिया गुणस्तरका बल्ब खरिद गरी केही दिनमै बिग्रिने अवस्था आउने गरेको छ । गुणस्तरीय स्ट्रीट लाइटको माग गर्दै युवाहरूले बारम्बार आवाज उठाए पनि पालिका नेतृत्वले माग बेवास्ता गरेको र भेटवार्तासमेत नगरी तिरस्कार गरेको बताइएको छ ।
त्यसपछि युवाहरूले भ्रष्टाचारविरुद्ध तालाबन्दी गर्न बाध्य भएका थिए । तर त्यसलगत्तै लेखा शाखामा आपराधिक समूहमार्फत आगो लगाएर प्रमाण नष्ट गर्ने षड्यन्त्र गरिएको आशंका गरिएको छ । 

आगजनी घटनालाई बहाना बनाएर मेयर र केही वडा अध्यक्षहरूको दबाबमा कुशवाहा र सिंहलाई पक्राउ गरी म्याद थपिएको घटनालाई स्थानीयहरूले प्रशासनिक दुरुपयोग र भ्रष्टाचार ढाकछोप गर्ने प्रयासको रूपमा व्याख्या गरेका छन् ।
सामाजिक अभियन्ता र स्थानीय सचेत युवाहरूले तत्काल अभियन्ताहरूको रिहाइ र घटनाको निष्पक्ष छानबिनको माग गर्दै चेतावनी दिएका छन् कि, “सत्य र न्यायको पक्षमा लड्ने आवाजलाई थुनिएर रोकिने छैन।”






