बारामा पानीको समस्या समाधानका लागि सरोकारवालाहरु सङ छलफल

असार ३०, बारा । बारा पर्सा लगायत तराईका जिल्लामा बढ्दो खानेपानीको हाहाकार समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले पानी संकट न्यूनीकरणका लागि सरोकारवाला निकायसँग सुझाव संकलन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख बसन्त अधिकारीको नेतृत्वमा आयोजित छलफलमा बारा जिल्लाभित्रका खानेपानीका स्रोत, वितरण प्रणाली, वर्तमान अवस्था र सुधारका उपायबारे विस्तृत रुपमा छलफल गरिएको हो । उक्त छलफलमा प्रतिनिधिसभा सदस्य, स्थानीय तहका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजिक अभियन्ता, सरोकारवाला संघसंस्था लगायत विज्ञ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अधिकारीले खानेपानी संकट दीर्घकालीन समाधानका लागि सबै पक्षको सुझाव र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस प्रकारका छलफलहरू समाधानको दिशामा ठोस आधार बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सुझाव संकलन कार्यक्रममा सहभागीहरूले बारा जिल्लाभित्र रहेका खानेपानीका स्रोतहरूको संरक्षण, सुधार र उचित व्यवस्थापनमा जोड दिएका थिए । साथै, भूगर्भीय पानीको अत्यधिक दोहन, जलस्रोतको अभाव, वितरणमा असमानता र सरकारी निकायको समन्वयहीनताले समस्या झन् जटिल बनाएको भन्दै दीर्घकालीन रणनीतिमा केन्द्रित हुन आग्रह गरेका थिए ।
जिल्ला प्रशासनले प्राप्त सुझावहरूलाई समेटी नीति निर्माण तहमा पहल र सबैको सहकार्यमा आगामी दिनमा समाधान खोजिने प्रजिअ अधिकारीले बताउनु भएको छ ।
बढ्दो गर्मी, सुख्खा र जलवायु परिवर्तनका असरका बीच बारा लगायतका जिल्लाहरूमा खानेपानीको समस्या गम्भीर बन्दै गएको छ । यो अवस्थामा सरोकारवाला निकायको साझा पहललाई सकारात्मक रूपमा हेरिएको छ ।






