रौतहटमा हुण्डी कारोबारमाथि कडा प्रहार, लाखौँ नगदसहित युवक पक्राउ

रौतहट,मंसिर २७ । सीमावर्ती क्षेत्रमा मौलाउँदै गएको अवैध आर्थिक कारोबारविरुद्ध रौतहट प्रहरीले सक्रियता बढाएको छ। यही क्रममा प्रहरीले श्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना युवकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मौलापुर नगरपालिका–३ स्थित लाल बकैया बाँध आसपास विशेष चेकिङ सञ्चालन गर्ने क्रममा एक मोटरसाइकल शंकास्पद देखिएपछि रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा मोटरसाइकलको लेगगार्डमा लुकाइ राखिएको ठूलो परिमाणको नगद फेला परेको हो।

बरामद रकमसहित बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–११ भवानिपुरका ३६ वर्षीय मुन्ना प्रसाद जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी हरनैयाबाट देवाही गोनाही हुँदै कटहरियातर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका थिए।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले उक्त रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने संकेत गरेको छ। हाल जयसवाललाई हिरासतमा राखी घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।
डीएसपी बस्यालले सीमावर्ती जिल्लामा अवैध नगद कारोबार, हुण्डी तथा तस्करीजन्य गतिविधि बढ्दै गएको भन्दै त्यस्ता कार्य रोक्न प्रहरीको निगरानी र चेकिङ अझ कडा बनाइएको बताए। उनले अवैध आर्थिक गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे।






