सुजित पाण्डेको सम्झनामा भरत चोकमा दीप प्रज्वलन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४ स्थित लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको सम्झनामा कलैयाको भरत चोकमा दीप प्रज्वलन गरिएको छ।
पाण्डेको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै विभिन्न राजनीतिक दलमा आबद्ध युवा नेताहरू तथा युवाहरूले आज साँझ भरत चोकमा दीप प्रज्वलन गरेका हुन्। दीप प्रज्वलनमार्फत सहभागीहरूले पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।
दलीय सीमाभन्दा माथि उठेर विभिन्न दलका युवा नेताहरू एकै ठाउँमा भेला भई पाण्डेको सम्झनामा दीप प्रज्वलन गर्नुले उनको निधनले स्थानीय राजनीतिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावलाई समेत प्रतिबिम्बित गरेको सहभागीहरूले बताएका छन्।
३३ वर्षीय पाण्डेको बुधबार राति लक्ष्मिनिया चोकमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको थियो। उनको निधनले जनमत पार्टीसहित बारा जिल्लाको राजनीतिक वृत्तमा शोक छाएको छ।
दीप प्रज्वलनमा सहभागी युवाहरूले सडक दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close