भरुवा बन्दुकसहित निजगढमा एक जना पक्राउ

बारा । बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार असोज २० गते राति करिब १०ः४५ बजे रतनपुर पश्चिम टोलस्थित फुटबल ग्राउन्ड नजिकै इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले स्थानीय मोतीलाल रम्बाको छोरा वर्ष ३१ का शमशेर रम्बालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले शमशेरको साथबाट भरुवा बन्दुक थान–१ बरामद गरेको जनाएको छ। उनको साथबाट सेतो प्लास्टिकको डब्बामा राखिएको बारुदजस्तो देखिने पदार्थ ६० ग्राम, कागजमा पोको पारेर राखिएको बारुद बनाउन प्रयोग हुने पटाका तथा सानो प्याकेट र बाँसको टुक्रामा प्लास्टिकको डोरी र रबरले बाँधेर बनाइएको पासो (जाल) समेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका रम्बालाई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा इलाका प्रहरी कार्यालय निजगढमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप भई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले बरामद हातहतियार तथा अन्य सामग्रीको आधारमा घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close