बारामा आर्थिक गणना: व्यवसाय र रोजगारीको वास्तविक चित्र निकाल्ने प्रयास, विवरण गोप्य रहने


बारा, ६ वैशाख — बारा जिल्लामा आर्थिक गतिविधिको वास्तविक अवस्था पहिचान गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय आर्थिक गणनाको स्थलगत कार्य सुरु भएको छ। वैशाख २ गतेदेखि सुरु भएको गणनाले जिल्लाभर सञ्चालनमा रहेका उद्योग, व्यापार, सेवा तथा विभिन्न संस्थागत गतिविधिहरूको अद्यावधिक तथ्याङ्क संकलन गर्ने लक्ष्य लिएको छ।
जिल्ला आर्थिक गणना कार्यालय, बाराका प्रमुख राजेश दास का अनुसार २०८३ असार ७ गतेसम्म सञ्चालन हुने यस अभियानमार्फत जिल्लाको आर्थिक संरचना, रोजगारीको अवस्था र व्यवसायको विस्तारबारे स्पष्ट चित्र तयार पारिनेछ। यसअघि जिल्लास्तर र पालिकास्तरमा सरोकारवालासँग अन्तर्क्रिया गरेर गणनालाई व्यवस्थित बनाउन तयारी गरिएको थियो।
गणनामा दर्ता भएका तथा नभएका साना–ठूला उद्योग, व्यापार–व्यवसाय, सहकारी, सेवा क्षेत्र, विद्यालय, अस्पताल, गैरसरकारी संस्था लगायत आर्थिक गतिविधिमा संलग्न एकाइहरूको विवरण संकलन गरिँदैछ। यसबाट व्यवसायको संख्या, भौगोलिक वितरण, उत्पादन, सेवा प्रवाह तथा रोजगारीको अवस्थाबारे तथ्याङ्क तयार हुनेछ।
कार्यालयले संकलित व्यक्तिगत तथा व्यावसायिक विवरण पूर्ण रूपमा गोप्य रहने स्पष्ट पारेको छ। तथ्याङ्क ऐन, २०७९ अनुसार प्राप्त विवरण केवल सांख्यिकीय विश्लेषण र नीति निर्माणका लागि मात्र प्रयोग गरिनेछ, व्यक्तिगत वा संस्थागत पहिचान खुल्ने गरी सार्वजनिक नगरिने जनाइएको छ।
जिल्लामा तालिमप्राप्त गणक र सुपरिवेक्षक परिचालन गरिएका छन्, जसले व्यवसाय तथा प्रतिष्ठानमै पुगेर तथ्याङ्क संकलन गरिरहेका छन्। साथै, प्रविधिमैत्री प्रणालीमार्फत “ई–सेन्सस” प्रयोग गरी व्यवसायीले आफैं पनि विवरण भर्न सक्ने व्यवस्था गरिएको छ ।
कार्यालयका अनुसार आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले स्थानीय तथा राष्ट्रिय स्तरमा नीति निर्माण, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनाका कार्यक्रम तय गर्न महत्वपूर्ण आधार प्रदान गर्नेछ। सही तथ्याङ्कका लागि उद्योगी–व्यवसायीलाई सहयोग र सक्रिय सहभागिताको आग्रह गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close