बारागढीमा कृषक सशक्तिकरण अभियान: योजना निर्माण तालिम सम्पन्न, ब्रह्मस्थानमा तरकारी बजार सञ्चालनमा


बारा — बारागढी गाउँपालिकामा कृषक सशक्तिकरणलाई लक्षित गर्दै महत्वपूर्ण पहल गरिएको छ। गाउँपालिकाका वडा नं. २, ३ र ४ का १०० जना कृषकहरूको सहभागितामा “स्थानीय योजना निर्माणका ७ चरण तथा योजना प्राथमिकिकरण” विषयक दुई दिने तालिम सम्पन्न भएको हो।
“समृद्ध किसान र आत्मनिर्भर कृषि” भन्ने मूल नारासहित आयोजित तालिममा सहभागी कृषकहरूले आधुनिक कृषि प्रणाली, कृषिमा यान्त्रीकरण, सिँचाइ व्यवस्थापन, उत्पादनको बजारिकरण तथा आर्गेनिक खेती प्रवर्द्धनमा विशेष जोड दिएका छन्। तालिमका क्रममा कृषकहरूले स्थानीय, प्रादेशिक र संघीय सरकारसँग समन्वय गरी कार्यान्वयन गर्न सकिने योजनाहरू समेत तयार पारेका छन्।
तालिम दलित जनजाति उत्थान केन्द्र, बाराको प्राविधिक सहजीकरण तथा चाइल्ड एड नेटवर्कको आर्थिक सहयोगमा सञ्चालन भइरहेको “आर्थिक अवसर अभिवृद्धि परियोजना” अन्तर्गत सम्पन्न गरिएको हो। कार्यक्रमले कृषकहरूलाई योजनाबद्ध कृषि विकासतर्फ अग्रसर गराउने लक्ष्य राखेको आयोजकले जनाएको छ।
यसैबीच, तालिमपछि तयार गरिएको योजनाअनुसार बारागढी गाउँपालिका वडा नं. ४ अन्तर्गत सुनौलो स्वालम्बन कृषक समूहले ब्रह्मस्थानमा तरकारी बजार सञ्चालन सुरु गरेको छ। बैशाख ९ गतेदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने उक्त बजार स्थानीय कृषकहरूले उत्पादन गरेको ताजा तरकारी बिक्रीका लागि केन्द्रित हुनेछ।
वडा अध्यक्ष पनालाल साहसँगको समन्वयपछि बजार नियमित रूपमा सञ्चालन गर्ने सामूहिक प्रतिबद्धता कृषकहरूले जनाएका छन्। स्थानीय स्तरमै उत्पादन बिक्री गर्ने वातावरण बनेसँगै कृषकहरूलाई उत्पादन बढाउन थप हौसला मिल्ने अपेक्षा गरिएको छ।
परियोजना प्रमुख डा. अजय कुमारले स्थानीय बजार विस्तारले कृषकको आम्दानी वृद्धि हुने उल्लेख गर्दै आर्गेनिक खेती र जलवायु अनुकूल कृषि प्रविधि अपनाउनुपर्ने आवश्यकता औंल्याए।
यस पहलले कृषकहरूको आयआर्जन बढाउनुका साथै स्थानीय कृषि प्रणालीलाई दिगो, व्यवस्थित र आत्मनिर्भर बनाउने विश्वास गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close