बिरगंजमा देहव्यापारको जालोको भण्डाफोर: स्थानीयको गुनासोपछि अन्सारी सहित ७ जना पक्राउ

वीरगन्ज, जेठ १४ । वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित कृषि औजार कारखाना पछाडिको झाझी टोलमा लामो समयदेखि सञ्चालन हुँदै आएको भनिएको अवैध देहव्यापारको जालो अन्ततः प्रहरी कारबाहीमा परेको छ। स्थानीयवासीको पटक–पटकको गुनासो र विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा दुई पुरुष र पाँच महिलासहित ७ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको विशेष टोलीले झाझी टोलस्थित वकिल मियाँ अन्सारीको घरमा छापामारी गरेको थियो। प्रहरीले घरधनी अन्सारीसहित एक पुरुष ग्राहक र पाँच महिलालाई घटनास्थलबाट नियन्त्रणमा लिएको जनाएको छ।
स्थानीय बासिन्दाका अनुसार उक्त घरमा लामो समयदेखि शंकास्पद गतिविधि हुँदै आएको थियो। रातको समयमा अपरिचित व्यक्तिहरूको आवतजावत बढेपछि टोलवासीले प्रहरीलाई खबर गर्दै आएका थिए। त्यसपछि प्रहरी निगरानी बढाएर छापा मारेको स्रोतको दाबी छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले अवैध देहव्यापार सञ्चालन भइरहेको सूचनाका आधारमा कारबाही गरिएको बताए। उनका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ भने घटनासम्बन्धी थप विवरण संकलनको काम जारी रहेको छ।
प्रहरीले यस्ता अवैध गतिविधिविरुद्ध सूचना दिन सर्वसाधारणलाई आग्रह गर्दै सामाजिक विकृति नियन्त्रणमा समुदायको सहयोग आवश्यक रहेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close