भारतिय कुखुराका चल्ला बारा प्रहरीले पक्राउ गर्यो ।

कलैया, जेठ १७ — बारा प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका कुखुराका चल्ला नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार बिहान करिब ८:३० बजे प्रहरी चौकी कवही बाराबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–६ अमरपुर क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि निगरानी बढाएको थियो। सो क्रममा भारतबाट अवैध रूपमा बोकी ल्याइँदै गरिएका कुखुराका चल्ला फेला परेका हुन्।
प्रहरीले जनाएको अनुसार प्रहरी टोलीलाई देख्नासाथ चल्ला बोकेर आएका व्यक्ति कार्टुनहरू फालेर भारततर्फ फरार भएका थिए। घटनास्थलबाट ८८ कार्टुनमा राखिएका कुखुराका चल्ला बरामद गरिएको छ। बरामद चल्लाको अनुमानित मूल्य करिब १ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका चल्लाहरू स्थानीय जनप्रतिनिधि तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको उपस्थितिमा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
सीमावर्ती क्षेत्रमा पशुपन्छी तथा कृषिजन्य वस्तुको अवैध आयात रोक्न प्रहरीको निगरानी निरन्तर जारी रहेको र यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close