विकासको अभावमा रुँदै सिम्रौनगढ

रामबाबु मेहता
निर्णयको घडीमा बारा निर्वाचन क्षेत्र नम्बर १
नेपालको प्राचीन इतिहास, सभ्यता र सांस्कृतिक गौरव बोकेको सिम्रौनगढ आज पनि विकासको पर्खाइमै रुँदै छ। कहिल्यै राजधानी रहेको, मिथिला सभ्यताको केन्द्र मानिने यो ऐतिहासिक नगर राजनीतिक रूपमा पटक–पटक निर्णायक बने पनि भौतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले पछाडि नै परेको छ। बारा जिल्ला अन्तर्गत पर्ने निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूले हरेक चुनावमा ठूलो आशा र अपेक्षा सहित जनप्रतिनिधि चुने, तर ती अपेक्षाहरू व्यवहारमा पूरा हुन सकेनन्।
पटक–पटक अवसर पाएका नेताहरू
बारा निर्वाचन क्षेत्र नम्बर १ बाट विभिन्न दलका नेताहरू पटक–पटक निर्वाचित भए। एमालेका मुकुन्द न्योपाने दुई पटक, अच्छुत मैनाली एक पटक गरी तीन पटक यस क्षेत्रबाट विजयी बने। नेपाली कांग्रेसबाट उमाकान्त चौधरी दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। यस्तै, “आफ्नै गाउँ–ठाउँको नेता” भन्दै सद्भावना पार्टी, लोसपा र जसपाबाट सरोज कुमार यादवलाई जनताले जिताए, जो केन्द्रीय मन्त्रीदेखि प्रदेशको मुख्य मन्त्रीसम्म बन्न सफल भए। तर प्रश्न उहीँ छ—
यति धेरै अवसर पाउँदा पनि सिम्रौनगढको मुहार किन फेरिन सकेन?
विकासका नाममा खोक्रा प्रतिबद्धता
सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि—सिम्रौनगढका आधारभूत आवश्यकता अझै अधुरा छन्। ऐतिहासिक स्थलहरूको संरक्षण र पर्यटन प्रवर्द्धन त झनै ओझेलमा परेको छ। चुनावताका ठूला–ठूला सपना देखाइए, तर चुनाव सकिएपछि ती सपना भाषणमै सीमित भए। जनताले विश्वास गरेर पठाएका प्रतिनिधिहरू काठमाडौँ र प्रदेश राजधानीमै सीमित भए, गाउँ–बस्तीका समस्या सुन्ने फुर्सद पाएनन्।
इतिहास बोकेको भूमि, उपेक्षित वर्तमान
सिम्रौनगढ केवल एउटा नगरपालिका मात्र होइन, यो नेपालकै गौरवशाली इतिहासको साक्षी हो। तर आज यही भूमि बेरोजगारी, गरिबी, पलायन र आधारभूत सेवाको अभावले थिचिएको छ। युवाहरू रोजगारीका लागि विदेशिन बाध्य छन्, किसान मल र बजारको समस्याले पीडित छन्, र आम सर्वसाधारण अझै विकासको आशामा छन्।
अब निर्णय जनताकै हातमा
अब फेरि आउदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। यो निर्वाचन केवल उम्मेदवार जिताउने प्रक्रिया मात्र होइन, सिम्रौनगढको भविष्य तय गर्ने अवसर हो। प्रश्न स्पष्ट छ—
फेरि पनि उहीँ अनुहार, उहीँ दल र उहीँ शैलीलाई जिताउने?
कि विकासलाई पहिलो प्राथमिकता दिने नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विकल्प रोज्ने?
परिवर्तनको मत, विकासको बाटो
लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति मतदाताको हातमा हुन्छ। भावनामा बगेर होइन, विगतका कामको मूल्यांकन गरेर मतदान गर्ने बेला यही हो। अब सिम्रौनगढले सहानुभूति होइन, परिणाम खोजिरहेको छ। भाषण होइन, काम गर्ने नेतृत्व चाहिएको छ।
यदि फेरि पनि हामीले प्रश्न नगरी, मूल्यांकन नगरी मत हाल्यौं भने विकासको अभावमा रुँदै गरेको सिम्रौनगढको पीडा अझै लामो समयसम्म यथावत् रहनेछ। त्यसैले, यो निर्वाचनमा विवेकपूर्ण निर्णय गरौँ—
सिम्रौनगढको भविष्यका लागि, विकासको पक्षमा मत दिऔँ।





