पलायन : देशको भविष्ययुवा माथिको गम्भीर संकट

रामबाबु मेहता, नेपाल आज एउटा गम्भीर जनशक्ति संकटको सामना गरिरहेको छ। आर्थिक वर्ष २०८१/०८२ को तथ्यांकले देशको वर्तमान अवस्था निकै चिन्ताजनक रहेको स्पष्ट देखाउँछ। एक वर्षमै १ लाख २० हजारभन्दा बढी विद्यार्थीले विदेशमा अध्ययन गर्न ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC)’ लिएका छन् भने ८ लाख ३९ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। अर्थात्, एकै आर्थिक वर्षमा करिब १० लाख नेपाली युवा अध्ययन र रोजगारीको खोजीमा देश छाड्न बाध्य भएका छन्।
नेपालमा हरेक वर्ष करिब ३ लाखभन्दा केही बढी विद्यार्थीले +२ उत्तीर्ण गर्छन्। त्यसमध्ये ठूलो संख्यामा विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने क्रम तीव्र बनेको छ। यसको प्रत्यक्ष असर देशका विश्वविद्यालय र कलेजहरूमा देखिन थालेको छ। विद्यार्थीको अभावमा धेरै निजी कलेजहरूले स्नातक (Bachelor) र स्नातकोत्तर (Master) तहका कार्यक्रम बन्द गरिसकेका छन्। केही कलेज त पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगेका छन्। एक वर्षमा विदेशिने विद्यार्थीको संख्या नेपालका धेरै जिल्लाको कुल जनसंख्याभन्दा पनि बढी हुनु आफैंमा गम्भीर चेतावनी हो।
यदि यही प्रवृत्ति निरन्तर रह्यो भने केही वर्षपछि कक्षाकोठामा विद्यार्थी मात्र होइन, पढाउने शिक्षकसमेत अभाव हुने अवस्था आउन सक्छ। त्यतिबेला विदेशी शिक्षक, विशेषगरी भारतबाट शिक्षक ल्याउने अवस्था सिर्जना हुन सक्छ। यो केवल शैक्षिक संकट होइन, राष्ट्रिय क्षमता र आत्मनिर्भरतामाथिको चुनौती पनि हो।
अर्कोतर्फ, ८ लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा गइरहेका छन्। तीमध्ये अधिकांश अदक्ष वा अर्धदक्ष श्रमिक हुन्, जसले विदेशमा Dirty, Difficult and Dangerous (3D) प्रकृतिका काम गर्न बाध्य छन्। आफ्नै देशको विकासमा खर्चिनुपर्ने उनीहरूको श्रम, सीप र पसिना आज अन्य देशको आर्थिक समृद्धिमा प्रयोग भइरहेको छ। यो उनीहरूको इच्छा होइन, स्वदेशमा पर्याप्त अवसर नहुनुको परिणाम हो।
युवा कुनै पनि राष्ट्रको सबैभन्दा ठूलो शक्ति हुन्। उनीहरू नै उत्पादन, नवप्रवर्तन, उद्यमशीलता र आर्थिक विकासका आधार हुन्। जब सक्षम र ऊर्जाशील जनशक्ति निरन्तर विदेशिन्छ, त्यसको असर कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, अनुसन्धान तथा समग्र अर्थतन्त्रमा पर्छ। रेमिट्यान्सले तत्काल आर्थिक राहत दिए पनि दीर्घकालीन रूपमा जनशक्ति पलायनले देशको विकासको गति कमजोर बनाउँछ।
अब सरकारले युवालाई केवल वैदेशिक रोजगारीमा पठाउने नीतिभन्दा माथि उठेर स्वदेशमै अवसर सिर्जना गर्ने स्पष्ट योजना ल्याउनुपर्छ। गुणस्तरीय शिक्षा, सीपमूलक तालिम, उद्योग तथा उद्यम प्रवर्द्धन, लगानीमैत्री वातावरण र रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक छ। साथै, विश्वविद्यालय र कलेजलाई प्रतिस्पर्धी तथा अनुसन्धानमुखी बनाउँदै नेपालमै पढ्न र काम गर्न सकिने वातावरण निर्माण गर्नु समयको माग हो।
देशको भविष्य जोगाउने हो भने युवालाई जोगाउनुपर्छ। युवा देशमै बस्ने, पढ्ने, काम गर्ने र आफ्नो भविष्य यहीँ देख्ने वातावरण बनाउन सकिएन भने नेपालले केवल जनसंख्या होइन, आफ्नो सम्भावना पनि गुमाउँदै जानेछ। अहिले नै प्रभावकारी नीति र ठोस कदम चालिएन भने भोलिको पुस्ताले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ।


