बंगरी नदिमा औद्योगिक फोहोर मिसावट रोक्न Gen-Z युवाहरूको ज्ञापनपत्र

बारा, कार्तिक २,
बारा जिल्लाको फेटा गाउँपालिका अन्तर्गतका अकवनिया, भलुही र प्रसौनी गाउँपालिका अन्तर्गतका गोइठही तथा कलैया उपमहानगरपालिकाका मनगढवाका Gen-Z युवाहरूको एक समूहले आज जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा बंगरी नदिमा औद्योगिक फोहोर पानीको मिसावट तुरुन्त रोक्न, दोषी उद्योगमाथि कानूनी कारबाही गर्न तथा दीर्घकालीन समाधानका उपायहरू अघि सार्न माग गरिएको छ।
उक्त युवाहरूले कलैयास्थित रिलायन्स सुगर इन्डस्ट्रिज, श्रीपुरबाट उपचारविना निस्किएको फोहोर पानी सीधै बंगरी नदिमा मिसाइँदै आएको र त्यसका कारण स्थानीय बासिन्दा स्वास्थ्य तथा वातावरणीय समस्या भोगिरहेका छन् भनेर गुनासो गरेका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार फोहोर पानीका कारण नदीको पानी प्रदूषित बनेको, दुर्गन्ध फैलिएको, र छालाको रोग, एलर्जी तथा पेटका समस्या देखिएका छन्। उक्त प्रदूषणका असरले ब्रह्मपुरी, बेलहिया, प्रस्टोका, भतौडा, बैराटपुर, गोइठही, मनगढवा, भलुही, अकवनिया, त्रिवेणी लगायतका करिब ५० भन्दा बढी बस्ती प्रत्यक्ष प्रभावित भएका छन्।
युवाहरूले निकटमा आउने दीपावली र छठ पर्वमा नदी किनारमा हुने धार्मिक क्रियाकलाप प्रभावित हुने बताउँदै, यो विषय सार्वजनिक स्वास्थ्य, वातावरणीय अधिकार र धार्मिक आस्थासँग जोडिएको गम्भीर समस्या भएको बताएका छन्।
ज्ञापनपत्रमा नेपालको संविधानको धारा ३० (स्वच्छ वातावरणको हक), वातावरण संरक्षण ऐन २०७६, वातावरण संरक्षण नियमावली २०७७, र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गतका व्यवस्थाहरूको उल्लङ्घन भएको उल्लेख गर्दै तत्काल कार्यान्वयनका मागहरू प्रस्तुत गरिएको छ।
ज्ञापनपत्रका मुख्य मागहरू:
1. फोहोर पानीको मिसावट तुरुन्त रोक्ने लिखित आदेश सम्बन्धित उद्योगलाई जारी गर्न।
2. Effluent Treatment Plant (ETP) पूर्ण रूपमा सञ्चालन गरी उपचारित पानी मात्र कानुनअनुसार निस्कासन गर्न।
3. प्रभावित वडाका महिला, दलित र युवा प्रतिनिधि समावेश भएको बहुपक्षीय अनुगमन समिति गठन गरी मासिक अनुगमन गर्न।
4. कानुन उल्लङ्घन गर्ने उद्योगविरुद्ध जरिवाना र कानूनी कारबाही प्रक्रिया अघि बढाई समयसीमा सहितको कार्ययोजना सार्वजनिक गर्न।
5. तोकिएको समयभित्र माग कार्यान्वयन नभए शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अगाडि बढाइने चेतावनी।
युवाहरूले विश्वास व्यक्त गरेका छन् कि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्वास्थ्य र धार्मिक आस्थासँग सम्बन्धित यस गम्भीर विषयमा शीघ्र, निष्पक्ष र प्रभावकारी पहल गर्नेछ।






