कलैयामा हजारौँ पीडितको नारा–जुलुस, मिटरब्याजी र लघुवित्त पीडितले सरकारसँग न्यायको माग

, बिनय राज शर्मा ,कलैया ।
आज कलैयामा मिटरब्याज पीडित, लघुवित्त वित्तीय संस्था तथा सहकारी पीडित, कालोसूचीमा परेका तथा घर–जग्गा लिलामीमा परेका पीडितहरू हजारौँको संख्यामा सडकमा उत्रिँदै नारा–जुलुस प्रदर्शन गरेका छन्।
केन्द्रीय सदस्य सिरचन्द्र चौधरीको नेतृत्वमा सम्पन्न उक्त जुलुस कलैयाका विभिन्न मुख्य चोक तथा बजार क्षेत्र परिक्रमा गर्दै शान्तिपूर्ण रूपमा अघि बढेको थियो। सहभागीहरूले “मिटरब्याज बन्द गर”, “लघुवित्तको अत्याचार रोक”, “कालोसूची खारेज गर”, “लिलामी पीडितलाई न्याय दे” जस्ता नारा लगाउँदै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।
जुलुसपछिको संक्षिप्त सभामा वक्ताहरूले मिटरब्याजी र केही लघुवित्त तथा सहकारी संस्थाहरूले मनपरी ब्याजदर, धम्की र दबाबका कारण सर्वसाधारणको घर–जग्गा लिलामीसम्म पुगेको गुनासो गरे। उनीहरूले पीडितहरूको ऋण पुनर्संरचना, कालोसूची हटाउने व्यवस्था, अवैध ब्याज असुलीमाथि कडा कारबाही तथा पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन्।
नेतृत्वकर्ता चौधरीले पीडितको समस्या समाधान नभएसम्म आन्दोलनलाई चरणबद्ध रूपमा निरन्तरता दिने चेतावनी दिँदै सरकारसँग वार्तामार्फत ठोस समाधान खोज्न आग्रह गरे। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन्।





