बारामा १ लाख ५४ हजार नगदसहित ९ जना जुवारे पक्राउ

कलैया : बारामा तास खेलिरहेको आरोपमा नौ जना जुवारे पक्राउ परेका छन्।
विशेष सूचना आधारमा उनीहरूलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवंम् प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिएका छन् ।
प्रहरीले उनीहरुलाई जीतपुर सिमरा उपमहानगरपालिका–२ जानकीटोलस्थित केशव सुनुवारको घरबाट पक्राउ गरेको हो । तेस्रो तलामा जुवा तास खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घर खानतलासी गर्दा तेस्रो तलाको कोठामा जुवा तास खेलिरहेको अवस्थामा एक लाख ५४ हजार छ सय ८० रुपैयाँ नगद बरामद गरेको एसपी तामाङले बताए ।
पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ३० वर्षीय सुशान्त खाती सुनार,वडा नं. २ का ४० वर्षीय बलराम विश्वकर्मा, ५६ वर्षीय सुमन कुमार भट्टराई, ४१ वर्षीय अभय श्रीवास्तव, ४१ वर्षीय घरधनी केशव सुनुवार, ५२ वर्षीय थलबहादुर विश्वकर्मा, ५४ वर्षीय शिवकुमार साह, ५१ वर्षीय राजकुमार भट्टराई र ५९ वर्षीय बलरामकुमार क्षेत्री रहेका छन्।
उनीहरूबाट क्रमशः ३३ हजार, २३ हजार २ सय, चार सय ५०, १९ हजार ७ सय ३५,छ हजार ९५, १० हजार २ सय ५०, २० हजार ६ सय,आठ हजार ५ सय ५० र ३२ हजार ८ सय रुपैयाँ नगद बरामद गरिएको एसपी तामाङले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई सोही स्थानमा जरुरी पक्राउ पुर्जी थमाई पक्राउ गरिएको हो ।





