सशस्त्रले गरेको छापामारीमा १८ लाखको कपडा बरामद

सशस्त्र प्रहरी बलले वीरगन्जमा भन्सार छली गरी लुकाएर राखेको कपडा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा स्थानीयको घरमा छापा मार्दा १८ लाख ५० हजार रुपैयाँ बराबरको अवैध कपडा नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्सा र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका-१, छपकैया र नदिया टोलका विभिन्न घरहरूमा लुकाइछिपाई राखेको अवस्थामा उक्त कपडा बरामद गरेको हो।

गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहका अनुसार, भारतबाट तस्करी गरी ल्याइएका कपडाहरू बाहिर पठाउने तयारी भइरहेको विशेष सूचना पाएपछि संयुक्त टोलीले छापामारी गरेको थियो।

‘तस्कर समूहले भन्सार छलेर ल्याई स्थानीयको घरमा भण्डारण गरेको थियो,’ डीएसपी सिंहले भने, ‘सूचनाको आधारमा हामीले तत्काल कारबाही अघि बढाएका हौं।’

बरामद गरिएका सम्पूर्ण कपडाहरू आवश्यक अनुसन्धान र कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको डीएसपी सिंहले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close