बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय गुहार

बारा, कार्तिक २ । नेपाल पत्रकार महासंघ, बारा शाखाले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेको छ। महासंघले मिति २०८२ साल कार्तिक २ गते एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सम्बन्धित निकायहरूमा ज्ञापनपत्र पठाएको हो।

महासंघले प्रहरी प्रमुख तामाङका पछिल्ला गतिविधिले जिल्लामा कार्यरत पत्रकारहरूको मनोबल गिराएको र पत्रकारका नेता तथा नागरिक समाजका अगुवाहरूलाई अनावश्यक निगरानीमा राख्ने तथा प्रताडित गर्ने गरेको आरोप लगाएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रहरी प्रमुख तामाङले शान्ति–सुव्यवस्था कायम गर्नुभन्दा अवैध धन आर्जनमा संलग्न भएको भन्ने सूचना सार्वजनिक भइरहेकाले सो विषयमा प्रश्न उठाउने पत्रकारमाथि व्यक्तिगत रिसइबी राखिएको बताइएको छ। पत्रकार महासंघका अध्यक्ष रमेश सुवेदीले लेखेको समाचारपछि तामाङले सुवेदीलाई निगरानीमा राख्दै दुई दिनसम्म मानसिक प्रताडना दिएको र जाहेरीकर्ताकै पक्षमा वकालत गरेको आरोप पनि लगाइएको छ।

सो घटनापछि ७० औं प्रहरी दिवसको विशेष कार्यक्रममा जिल्लाका सञ्चारकर्मीहरूले सांकेतिक विरोध जनाउँदै अनुपस्थित भएका थिए। महासंघले प्रहरी प्रमुखको ‘दशैंअघि तस्करसँग मिलेमतोबारे लेखिएको समाचारको बदला लिन उद्दत हुने व्यवहार’ स्पष्ट देखिएको दाबी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “पत्रकारिताको मर्यादा र पत्रकारको सुरक्षा सुनिश्चित गर्न राज्यका सबै निकायले चासो दिनु जरुरी छ।” साथै, प्रहरी प्रमुखको दम्भपूर्ण र प्रतिशोधी व्यवहारप्रति सम्पूर्ण सञ्चारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्।

उक्त विज्ञप्तिमा महासंघका सचिव पुष्पराज खतिवडाको हस्ताक्षर रहेको छ। यो विज्ञप्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा बोधार्थका लागि पठाइएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close