सिम्रौनगढ नगरपालिकाका सबै कार्यालय र विद्यालय बन्द

सिम्रौनगढ (बारा) — सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नज्मु शेहरले सोमबार नगरपालिकाका प्रशासकीय अधिकृत बिरबहादुर लहेरामाथि दुर्व्यवहार गरेको आरोपपछि नगरपालिकाअन्तर्गतका सबै कार्यालय तथा विद्यालय बन्द गरिएको छ।
घटनापछि नगरपालिकामा कार्यरत कर्मचारीहरू आन्दोलित बनेका छन्। कर्मचारीहरूले उपप्रमुखबाट भएको भनिएको दुर्व्यवहारको विरोध जनाउँदै सेवा प्रवाह ठप्प पारेका हुन्। उनीहरूले दोषीमाथि छानबिन गरी कारबाहीको माग समेत गरेका छन्।
कर्मचारीहरूको निर्णयअनुसार नगरपालिकाअन्तर्गतका सम्पूर्ण शाखा कार्यालय, वडा कार्यालय तथा आज बाट सामुदायिक विद्यालयहरू समेत बन्द गरिएको जनाइएको छ। यसबाट सर्वसाधारण सेवाग्राही तथा विद्यार्थीहरू प्रभावित भएका छन्।
घटनाबारे नगरपालिकाको तर्फबाट औपचारिक धारणा आउन बाँकी रहेको छ भने स्थानीय प्रशासनले अवस्था सामान्य बनाउन पहल भइरहेको जनाएको छ।





