बारामा ५५ किलो गाँजासहित एक जना पक्राउ

बारा, असोज २५ । बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ५५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोलीले शनिबार राति करिब पौने ११ बजे पचरौता नगरपालिका–६ मा चेकजाँच गर्ने क्रममा पचरौता नगरपालिका–३ रामनगर टोल निवासी ४५ वर्षीय राजकिशोर प्रसाद यादवलाई गाँजासहित नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीका अनुसार चेकजाँचका क्रममा यादवको साथबाट ५५ किलो गाँजा बरामद भएको थियो। गाँजासहित पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बारा कलैयाले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस





