प्रशासकीय अधिकृत लहेरामाथि भएको दुर्व्यवहार प्रती कर्मचारी पक्ष आक्रोशित

उमाकान्त कुशवाहा,माघ २ गते ।
बारा । सिम्रौनगढ नगरपालिकामा गत सोमबार नगर उप–प्रमुख नजमु शेहरले प्रशासकीय अधिकृत बिरबहादुर लहेरामाथि दुव्र्यवहार गरेको घटनाप्रति कर्मचारी पक्षले कडा आपत्ति जनाएको छ।
कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा नगर उप–प्रमुख शेहरले कार्यालयको मर्यादा, प्रशासनिक पदको गरिमा र कर्मचारीको सम्मानविरुद्ध जाने गरी अपमानजनक व्यवहार गरेको आरोप लगाइएको छ। उक्त घटनाले सम्पूर्ण कर्मचारी वर्गमा असुरक्षा र त्रासको वातावरण सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ कि स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवाग्राहीमैत्री प्रशासन कायम गर्नुपर्ने समयमा जनप्रतिनिधिबाटै यस्तो व्यवहार हुनु निन्दनीय छ। कर्मचारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
कर्मचारी पक्षले सम्मानजनक कार्य वातावरण सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रम अघि बढाउने कर्मचारी संघर्स समितिका संयोजक सुरेश यादवले चेतावनीसमेत दिएका हुन । यस घटनापछि सिम्रौनगढ नगरपालिकाको प्रशासनिक गतिविधिमा असर परेको छ भने वाडा कार्यालय बाट दिने सेवा समेत बन्द भएकाले सेवाग्राहीहरु मर्कामा छ्न ।
सो घटनाको विषयमा नगर उप–प्रमुख नजमु शेहरको पक्षबाट भने औपचारिक प्रतिक्रिया आइसकेको छैन।






