बारामा ५१ हजार रुपैयाँ बराबरका पटाका प्रहरीले नियन्त्रणमा लिए

बिनय राज शर्मा २०८२ असोज ,। जिल्ला प्रहरी कार्यालय बाराले अवैध रूपमा लैजाँदै गरेका विभिन्न प्रकारका पटाका बरामद गरेको छ।
प्रहरीका अनुसार मिति २०८२ असोज २९ गते दिउँसो करिब १२:०० बजे इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।
प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगंजस्थित प्रहरी कार्यालय अगाडिको चेकपोइन्टमा जाँच गर्ने क्रममा रौतहटको ईशनाथ नगरपालिका–९ बस्ने २१ वर्षीय नवल साहले ना २१ प ८४१७ नम्बरको होण्डा युनिकर्न मोटरसाइकलमा लोड गरी रौतहटबाट चितवनतर्फ लैजाँदै गरेका एक बोरा विभिन्न किसिमका पटाका फेला पारेको हो।
बरामद गरिएका सामानको मूल्य करिब रु. ५१ हजार बराबर रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पटाका तथा प्रयोग गरिएको मोटरसाइकलसहित व्यक्ति र वस्तु नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराले नागरिकहरूलाई अवैध रूपमा पटाका बिक्री–वितरण वा ढुवानी नगर्न आग्रह गरेको छ।





