सशस्त्र प्रहरीद्वारा रु लाखौको अवैध सामान बरामद

रामबाबु मेहता,भदौ १ गते । सशस्त्र प्रहरी बलले बारा जिल्लाको विभिन्न स्थानहरूबाट करिब चार लाख रुपैयाँ बराबरको भन्सार छली गरेको अवैध मालसामान बरामद गरेको छ।
इलाकामा खटिएको बीओपी गोलागन्जका सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्कीको कमाण्डमा खटिएको पाँच जनाको टोलीले सिम्रौनगढ नगरपालिका–६ अमरपुर सीमाबाट कुर्ता, गम्छा र साडी अन्दाजी ७४ हजार ३ सय रुपैयाँ बराबरको बरामद गरी बिओपीमा राखेको जनाएको छ। यस्तै सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातिबाट नायब उपरीक्षक राजन लाल श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको मोबाइल टोलीले आइतवार पचरौता नगरपालिका–२ श्रीनगर वैरिया गाउँ नजिकै सीमाबाट मोटरसाइकलसहित २ लाख ४५ हजार ५ सय रुपैयाँ बराबरको चिनी र सरफ बरामद गरेको हो।
यसैगरी एफओबी छतवाका सशस्त्र प्रहरी नायब निरीक्षक गणेश गिरीको कमाण्डमा खटिएको पाँच जनाको गस्ती टोलीले बिश्रामपुर गाउँपालिका–१ बसत चोकमा मोबाइल पार्टसहरू अन्दाजी मुल्य ५१ हजार रुपैयाँ बराबरको बरामद गरेको छ भने कलैया उपमहानगरपालिका–५ दुर्गा स्कुल नजिकैबाट ३५ हजार रुपैयाँ बराबरको चिनी तथा मैदा बरामद गरिएको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिए ।

उपरीक्षक के सी का अनुसार बरामद गरिएका सामानहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close