बारा प्रहरीले पिकअप सहित जितपुरमा २ लाखको प्याज बरामद गरे

कलैया – वीरगञ्जबाट चितवन तर्फ गइरहेको पिकअप गाडीबाट प्रहरीले अवैध प्याज बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा मातहतअन्तर्गत पर्ने इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले शनिवार वीरगञ्जबाट चितवन तर्फ गइरहेको प्रदेश २–०३–००१ च ६२०३ नम्बरको पिकअप गाडी आठ अवैध प्याज बरामद गरेको छ ।

बारा प्रहरी नायव उपरीक्षक तथा प्रहरीका प्रवक्ता (डिएसपी) दधिराम न्यौपानेका अनुसार चितवन तर्फ गइरहेको पिकअप ट्रकलाई प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका – ७ जितपुरस्थित सडक खण्डमा रोकेर चेकजाँच गर्दा त्यसमा बिलबिजक भन्दा बढीको प्याज लोड रहेको पाइएको थियो ।
चालकले प्याजको स्रोत खुलाउन नसकेपछि पिकअपसहित प्रहरीले ६० वटा बोरामा राखिएको झन्डै तिन हजार किलोग्राम प्याज नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले जानकारी गराए । नियन्त्रणमा लिइएको प्याजको अनुमानित मूल्य एक लाख ८१ हजार रुपैयाँ रहेको न्यौपानेले बताए । पिकअप र प्याजलाई नियन्त्रणमा राखेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।





