कलैयाको ब्लड बैंकमा रगतको अभाव

कलैया ,जेठ ३१ । बारा जिल्ला स्थित प्रादेशिक अस्पताल कलैयामा रहेको ब्लड बैंकमा अहिले रगतको अभाव सिर्जना भएको छ।

सो ब्लड बैंकमा १ हजार पोका रगत भण्डारण गर्ने क्षमता भए पनि हाल रगत अभावका कारण स्टोर खालि रहेको ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्ताले बताएका छन् । ब्लड बैंकबाट दैनिक ४०–५० जना बिरामीले सेवा लिने भएपनि जेठ २ गतेदेखि रगत अभावका कारण बिरामीहरूले उपचारमा कठिनाइ भोग्नुपरेको छ इन्चार्ज गुप्ताले जानकारी गराए ।

प्रादेशिक अस्पतालमा हुने शैल्यक्रिया, डेलिभरी, दुर्घटना लगायतका आकस्मिक सेवाहरूका लागि निरन्तर रगतको माग लाग्ने गर्दछ। तर हालको अवस्था हेर्दा, बिरामीहरुलाई समयमा रगत नपाएको हुनाले उपचारमा समस्या भइरहेको छ ।

बारा जिल्लामा १ वटा रेडक्रस शाखा र १३ वटा उपशाखाहरू सक्रिय भए तापनि जिल्ला भित्र रहेका अन्य संस्थाहरूको पर्याप्त समन्वय र निरन्तरता अभावले रगतको आपूर्ति हुन सकेको छैन। विगतमा थुप्रै संघ–संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका थिए। तर अहिले नियमित रक्तदान कार्यक्रम नहुनु र जागरूकताको कमीले यो अवस्था सिर्जना भएको हो।
गुप्ताले बारा जिल्लाका सरकारी तथा गैरसरकारी संघ,संस्थाहरू, सामुदायिक तथा राजनीतिक संगठनहरू, यस्तै निजि तथा सामुदायिक विद्यालय,क्याम्पस,युवा क्लबहरूलाई समय–समयमा रक्तदान कार्यक्रमको आयोजना गरेर मानव जीवन रक्षामा सहयोग गर्न आग्रह गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close