कलैयामा सुशासन कडाइका साथ लागू गर्न सांसद अरविन्द साह को निर्देशन

रामबाबु मेहता— बारा जिल्लामा सुशासन कायम गर्न प्रतिनिधिसभा सदस्य अरविन्द साह ले जिल्ला प्रशासन कार्यालयलाई स्पष्ट निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय कलैयालाई सम्बोधन गर्दै उनले सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन विभिन्न सुधारात्मक उपायहरू तत्काल कार्यान्वयन गर्न आग्रह गरेका हुन्।
साहले प्रशासनद्वारा शान्ति र सुरक्षा कायम गर्न गरिएको प्रयासको प्रशंसा गर्दै सुशासन अभियानमा आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका छन्। उनले कार्यालयभित्र सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न विशेष जोड दिएका छन्।
पत्रमा उल्लेख भएअनुसार कार्यालयमा आउने सेवाग्राहीसँग नम्र र शिष्ट व्यवहार गर्न, वृद्ध, अशक्त तथा महिलालाई प्राथमिकताका साथ सेवा दिन, तथा भाषा वा अशिक्षाका कारण समस्या भोगिरहेका नागरिकलाई सहजीकरण गर्न निर्देशन दिइएको छ। साथै, कार्यालय परिसर र शौचालयको सरसफाइमा ध्यान दिँदै स्वच्छ वातावरण कायम गर्न भनिएको छ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन हेल्प डेस्क अनिवार्य रूपमा सञ्चालन गर्न, फोन, इमेल तथा सामाजिक सञ्जालमार्फत आएका गुनासा र सुझावलाई सम्बोधन गर्न, तथा ‘एकद्वार प्रणाली’ लागू गरी सेवाग्राहीलाई अनावश्यक झन्झटबाट मुक्त गर्न पनि आग्रह गरिएको छ।
त्यसैगरी, प्रत्येक सेवासम्बन्धी आवश्यक कागजात, शुल्क र समयसीमाबारे स्पष्ट जानकारी नागरिक वडापत्रमार्फत उपलब्ध गराउनुपर्ने, सेवाग्राहीलाई एसएमएस वा फोनमार्फत जानकारी दिने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।
भीडभाड नियन्त्रणतर्फ सेवाग्राही बाहेक अन्य व्यक्तिको अनावश्यक प्रवेश रोक्न, कार्यालयभित्र ‘पञ्चायती शैली’को अभ्यास अन्त्य गर्न, र सबै गतिविधि निगरानीका लागि सिसिटिभी अनिवार्य रूपमा सञ्चालन गर्न निर्देशन दिइएको छ।
सांसद साहले सेवा प्रवाहमा अनावश्यक वा बढी शुल्क असुली नगर्न कडाइका साथ सचेत गराउँदै पारदर्शिता कायम गर्न जोड दिएका छन्। उनले यी सबै व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए नागरिकले सहज र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close