बाराका जेनजी युवाको मानवीय पहल : तीन पिकअप राहत सामग्री लिएर रसुवातर्फ प्रस्थान

बारा । बाढी तथा विपद्बाट प्रभावित रसुवाका नागरिकलाई सहयोग गर्ने उद्देश्यले बाराका जेनजी युवाहरूले राहत तथा राशन सामग्री संकलन गरी रसुवातर्फ पठाएका छन्।
बाराबाट तीन वटा पिकअप गाडीमा राहत तथा खाद्यान्न सामग्री लिएर जेनजी तथा युवाहरूको टोली रसुवातर्फ प्रस्थान गरेको हो। टोलीले रसुवा पुगेर बाढीबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूलाई आवश्यक राहत तथा राशन सामग्री वितरण गर्ने जनाएको छ। 
विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको युवाहरूले बताएका छन्। उनीहरूले विपद्को समयमा पीडितको साथमा उभिनु मानवीय कर्तव्य र सामाजिक जिम्मेवारी भएको बताएका छन्।
‘बारा जिल्लाबाट रसुवाका बाढीपीडितसम्म—मानवीय सहयोगको यात्रा’ भन्ने भावनासहित सुरु गरिएको अभियानमा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको छ।
जेनजी तथा युवाहरूले राहत वितरणलाई केवल सहयोगको रूपमा नभई विपद्को समयमा एक जिल्लाका नागरिकले अर्को जिल्लाका पीडित नागरिकप्रति देखाएको ऐक्यबद्धताको रूपमा लिएका छन्। 
राहत सामग्री बोकेका तीनवटै पिकअप गाडी रसुवातर्फ प्रस्थान गरेपछि युवाहरूले सामाजिक सञ्जालमार्फत समेत अभियानबारे जानकारी गराएका छन्। उनीहरूले विपद्बाट प्रभावित परिवारलाई सक्दो सहयोग गर्न अन्य व्यक्ति तथा संघसंस्थालाई समेत आग्रह गरेका छन्।
Genz & Youth of Bara को पहलमा अघि बढाइएको यो अभियानले विपद्को समयमा स्थानीय युवाहरूले देखाएको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई प्रतिबिम्बित गरेको छ।






