बहुबिवाहलाई वैधीकरण गर्ने सरकारको प्रयास विरुद्ध सिम्रौनगढका महिलाहरू आन्दोलित

नारा जुलुस सहित गरे प्रदर्शन

२२ साउन,मुकेश कुमार मेहता । बहुबिवाहलाई वैधीकरण गर्ने प्रयासका विरुद्धमा बिहिवार बाराको सिम्रौनगढ बजारमा महिलाहरूले जुलुस सहित प्रदर्शन गरेका छन्।
कंकाली मन्दिर परिसरबाट नारा जुलुससहित निस्किएको महिलाहरु सिम्रौनगढ बजार परिक्रमा गर्दै इलाका प्रशासन कार्यालय सम्म परिक्रमा गरेको हो ।

समाज सेवी फुलपती देवी मुखियाको नेतृत्वमा निकालिएको सो जुलुसमा करिब १ सय ५० जना महिलाहरूको सहभागिता रहेको आयोजकले जनाएका छन्। महिलाहरूले “बहुबिवाह खारेज गर”, “एक पत्नी निति कायम गर”बिभेदकारी सरकार मुर्दावाद जस्ता विभिन्न नारासमेत लगाएका हुन ।
उक्त जुलुस प्रदर्शन भागवती महिला समूह, सिम्रौनगढ–६ र नागरिक विकास संघर्षशील संस्था, सिम्रौनगढ–४ को संयुक्त आयोजनामा सम्पन्न भएको हो।
आयोजकहरूले बहुबिवाहलाई वैध बनाउने कुनै पनि कानुनी पहलले समाजमा महिला अधिकार र समानताको प्रतिकूल असर पार्ने बताएका छन्।

सामाजिक सन्देशसहितको शान्तिपूर्ण प्रदर्शन
जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो भने सहभागी महिलाहरूले समाजमा बहुबिवाहको दुष्परिणाम र त्यसले महिलामाथि पार्ने मानसिक, सामाजिक र आर्थिक असरबारे चेतनामूलक सन्देश पनि प्रवाह गरेका थिए।

सिम्रौनगढमा भएको यो प्रदर्शन बहुबिवाहलाई वैध बनाउने प्रयासप्रति स्थानिय महिलाहरूको असन्तोष र सचेत प्रतिवादको प्रतीकका रूपमा देखिएको छ। उनीहरूले आगामी दिनमा पनि यस्ता प्रयासविरुद्ध सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close