शीर्षक: उद्देश्य अस्पष्ट नालानिर्माणले सिम्रौनगढ–३ का स्थानीय अन्योलमा

सिम्रौनगढ, बारा — सिम्रौनगढ नगरपालिका वडा नं. ३ स्थित नयाँकटोला क्षेत्रको पश्चिमतर्फ निर्माण भइरहेको नालाको उद्देश्य स्पष्ट नभएपछि स्थानीयवासीहरूमा अन्योलता देखिएको छ।
स्थानीयका अनुसार निर्माणाधीन नाला पानी निकासका लागि हो भने यसको संरचना र उचाइले नै प्रश्न उठाएको छ। नालाको दुवै किनार आसपासका खेत, बस्ती तथा जमिनको सतहभन्दा माथि उठाइएको छ भने त्यसभन्दा पनि माथि लेबल राखिएको देखिन्छ। यस्तो अवस्थामा पानी कहाँबाट कहाँसम्म बग्ने हो भन्ने विषय प्रष्ट हुन सकेको छैन।
त्यसैगरी, उक्त क्षेत्र डुबान प्रभावित (दह) क्षेत्रसमेत नभएकाले बाढी नियन्त्रणका लागि नाला निर्माण गरिएको हो भन्ने आधार पनि कमजोर देखिएको स्थानीयको भनाइ छ।
यस विषयमा युवा नेता सुनिल कुशवाहाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै योजनाको उद्देश्य, डिजाइन तथा उपयोगिताबारे स्पष्ट पारेर मात्र काम अगाडि बढाउन सरोकारवालासँग आग्रह गरेका छन्। उनले सार्वजनिक रूपमा जानकारी दिई पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिएका छन्।
साथै, विनियोजित बजेटको सही सदुपयोग होस् र कुनै प्रकारको दुरुपयोग नहोस् भन्ने विषयमा स्थानीयवासीको चासो र निगरानी आवश्यक रहेको पनि उनले उल्लेख गरेका छन्।





