पत्रकारमाथि ज्यान मार्ने धम्की र घर तोडफोडको घटनाको प्रेस सेन्टर नेपालद्वारा गम्भीर ध्यानाकर्षण
काठमाडौँ । पत्रकारमाथि ज्यान मार्ने धम्की दिइएको र एक पत्रकारको घर तोडफोड गरिएको घटनाको प्रेस सेन्टर नेपालले घोर निन्दा गर्दै दोषीउपर कडा कारबाहीको माग गरेको छ।
महासचिव मनोज घर्तीमगरले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा नेपाल प्रेसका वरिष्ठ संवाददाता केशव भुललाई समाचार लेखेकै कारण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले ज्यान मार्ने धम्की दिएको र जनआस्था साप्ताहिकका सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ज्यान मार्ने धम्की दिएको घटनाको प्रेस सेन्टरले निन्दा गरेको हो ।
प्रेस सेन्टर नेपालले लेख र समाचारको आधारमा पत्रकारहरूको हत्या गर्ने धम्कीलाई गैरकानुनी र प्रेस स्वतन्त्रता विरोधी कार्य भन्दै यस प्रकारका अक्षम्य धम्कीको घोर निन्दा गरेको छ।
महासचिव घर्तीमगरले धम्की दिने नेकपाका नेता–कार्यकर्ता र एमाले नेता महेश बस्नेतमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्। यसैबीच, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको लम्जुङ सदरमुकामस्थित घरमा गए राति अज्ञात समूहबाट ढुंगा प्रहार गरिएको घटनाप्रति पनि प्रेस सेन्टर नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन गरेर दोषीउपर कडा कानुनी कारबाही गर्न विज्ञप्तिमा माग गरिएको छ। प्रेस सेन्टर नेपालले समाचार लेखेकै भरमा पत्रकारमाथि आक्रमण गर्ने, धम्क्याउने र तर्साउने कार्य तुरुन्त रोक्न र उच्च प्रतिबद्धतासहित संविधान प्रदत्त पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न जोडदार माग गरेको छ।








