बारा १ मा आन्तरिक खटपटले कांग्रेस रक्षात्मक, तारा छापतर्फ थारु मत सर्ने संकेत

रामबाबु मेहता । निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूबीचको प्रतिस्पर्धा चर्किंदै गएको बेला नेपाली कांग्रेस भने आन्तरिक असमझदारीका कारण रक्षात्मक अवस्थामा पुगेको आकलन गरिएको छ। पार्टीभित्रको खटपट खुला रूपमा देखिन थालेपछि चुनावी अभियान अपेक्षाअनुसार सशक्त बन्न नसकेको स्थानीय विश्लेषकहरू बताउँछन्।
क्षेत्रीय स्तरमा नेतृत्व समन्वय कमजोर देखिएको र कार्यकर्ता परिचालन सुस्त बनेको गुनासो बढ्दै गएको छ। विशेषगरी नेता उमाकान्त चौधरीको निष्क्रियता कायम रहेको भन्दै कार्यकर्ता तहमा असन्तुष्टि चुलिएको बताइन्छ। चुनावी मैदानमा उनको प्रभावकारी उपस्थिति नदेखिँदा समर्थकहरू अन्य विकल्पतर्फ आकर्षित हुन सक्ने चर्चा छ।
स्थानीय जानकारहरूका अनुसार, यदि वर्तमान अवस्था यथावत् रह्यो भने थारु समुदायको मत ठूलो परिमाणमा तारा चुनाव चिन्हतर्फ सर्न सक्ने सम्भावना बलियो बन्दै गएको छ। समुदायभित्र देखिएको असन्तोष र वैकल्पिक शक्तिप्रति बढ्दो आकर्षणले चुनावी समीकरण फेरिन सक्ने आँकलन गरिएको छ।
यद्यपि, कांग्रेस नेतृत्वले आन्तरिक मतभेदलाई सामान्य प्रक्रिया भन्दै अन्तिम समयमा सबै शक्ति एकताबद्ध भएर अघि बढ्ने दाबी गरेको छ। तर अहिलेको परिदृश्यले भने प्रतिस्पर्धालाई थप रोचक र अनिश्चित बनाएको राजनीतिक वृत्तको बुझाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close