परवानीपुरमा मध्यराति सामूहिक आक्रमण, आमा–छोराको विभत्स हत्या, तीन जना घाइते

बिनय राज शर्मा ,बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीहमा मध्यराति भएको अज्ञात समूहको आक्रमणले पुरै गाउँलाई स्तब्ध बनाएको छ। धारिलो हतियार प्रयोग गरी गरिएको आक्रमणमा एकै परिवारका आमा र छोराको घटनास्थलमै ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
स्थानीय जगरुप महतो धानुकको परिवार लक्षित गरी गरिएको आक्रमणमा ५२ वर्षीया आमा र उनका ३२ वर्षीय छोरा रामिश्वर मण्डलको निर्मम हत्या भएको हो। प्रहरीका अनुसार २०८२ माघ १४ गते बिहान करिब ३ बजेतिर अज्ञात व्यक्तिले घरमै पसेर धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए।
आक्रमणमा घाइते भएका परिवारका अन्य तीन सदस्यको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनीहरूको अवस्था गम्भीर रहेको र थप उपचार जारी छ।
घटनाको कारण र आक्रमणकारी पहिचान हुन नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले गहिरो अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइवी, आपराधिक योजना वा अन्य कुनै कारण हुनसक्ने आशंकामा सबै कोणबाट छानबिन भइरहेको छ।
घटनापछि रहरियाडीह र आसपासका बस्तीमा त्रास र भयको वातावरण फैलिएको छ। स्थानीयवासीहरू राति बाहिर ननिस्कन थालेका छन् भने प्रहरीले गाउँमा सुरक्षा गस्ती कडा बनाएको छ। प्रहरीले शंकास्पद गतिविधिबारे जानकारी दिन सर्वसाधारणलाई अपिल समेत गरेको छ।
निर्दोष आमा–छोराको ज्यान जाने गरी भएको यो जघन्य घटनाले परवानीपुर मात्र होइन, पुरै बारालाई नै शोक र आक्रोशमा डुबाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close