६१ हजार नक्कली नेपाली नोट सहित पाँच जना प्रहरी नियन्त्रणमा

कलैया । नक्कली नेपाली नोटको कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ पाँच जनालाई बारा प्रहरीले उक्राउ गरि पत्रकार सम्मेलन गरी विहिवार प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, बारा परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव र निजको सालो सोही ठाउँ बस्ने नीरज श्रीवास्तव रहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी जानकारी गराए ।
जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुर बजारमा नक्कली नोटको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा तत्कालै प्रहरीको टोली परिचालन गरी एकजनालाई नक्कली नोटसहित पक्राउ गरेपछि निजको वयानका आधारमा जिल्लाको विभिन्न ठाउँ र अन्य ठाउँबाट गरी चार जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी गराए ।
पक्राउ परेका व्यक्तिबाट ६१ हजार नक्कली नेपाली नोट, भारतीय सिमकार्डसहित सात थान मोबाइल समेत बरामद गरिएको प्रहरी प्रवक्ता न्यौपानेले जनाए । पाँच तहमा नक्कली नोटको कारोबार भइरहेको जानकारी भएपछि प्रथम, दोस्रो, तेस्रो र चौथो तहसम्मका व्यक्तिलाई यो नक्कली नोट प्रकरणमा पक्राउ गर्न सफल भएको र चाँडै नै पाँचौँ तहका व्यक्तिलाई पक्राउ गर्ने प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । तीन लाख नक्कली नेपाली नोट लिनका लागि एक लाख सक्कली नेपाली नोट दिनुपर्ने पक्राउ परेका व्यक्तिको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी गराए ।
नक्कली नोट कारोबार गरेबापतमा पाँच प्रतिशतसम्मको कमिसन दिने गरेको अनुसन्धानबाट खुल्न आएको उनले सुनाए । नक्कली नोटको कारोबार गर्ने व्यक्ति खासगरी भीडभाड, किराना पसल, मासु पसल, तरकारी बजार, गाउँघरमा भैँसी, खसी खरिद गर्ने, ज्याला मजदुरी दिने काममा नक्कली पैसा प्रयोग गर्ने गरेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी गराए ।






