बारामा ४४ ग्राम ४०० मिलिग्राम खैरो ब्राउन सुगरसहित दुई महिला पक्राउ

रामबाबु मेहता, कार्तिक २९ । जिल्ला प्रहरी कार्यालय बाराले ४४ ग्राम ४०० मिलिग्राम खैरो ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको संयुक्त प्रहरी टोलीको कारबाहीमा उक्त लागूऔषध बरामद भएको हो।
मंगलवार दिउँसो करिब १५:४० बजे इलाका प्रहरी कार्यालय सिमरातून प्रहरी नायब निरीक्षक दीपक कुमार बस्तेनको कमाण्डमा खटिएको टोली तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा वीरगंज, पर्साको संयुक्त टिमले जीतपुर सिमरा उपमहानगरपालिका–५, लल्का पुल क्षेत्रमा पथलैयातर्फ पैदल आइरहेका दुई महिलालाई शंका लागी रोकेर चेकजाँच तथा शरीर खानतलासी गर्दा एक महिलाबाट सात पुरियामा रहेको ४४ ग्राम ४०० मिलिग्राम खैरो ब्राउन सुगर जस्तो देखिने लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषधयुक्त ब्राउन सुगर बरामद गरिएकी महिला तथा सो गतिविधिमा संलग्न अर्की महिलालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पक्राउ परेकाहरूको जिल्ला पर्सा, पटेर्वा सुगौली गाउँपालिका–६ बस्ने, प्रभु मुखियाकी श्रीमती ३५ वर्षीया सुसिला देवी जसको साथबाट लागूऔषध बरामद गरिएको छ । त्यस्तै
पर्सा जिल्ला पोखरिया नगरपालिका–७ बस्ने, अजय मुखियाकी श्रीमती ३० वर्षीया पुजा देवी सो कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।





