बाराबाट भारतसम्म बीउ तस्करीको जालो पर्दाफास — एसएसबीको संयुक्त कारबाहीमा ६० लाख बराबरको फर्सीको बीउ बरामद

रामबाबु मेहता,चैत ५ गते । बारा–भारत सीमाक्षेत्र हुँदै संगठित रूपमा सञ्चालन हुँदै आएको बीउ तस्करीको जालो भारतीय सुरक्षा निकायले पर्दाफास गरेको छ। सशस्त्र सीमा बल (SSB) को सक्रियतामा ठूलो परिमाणमा फर्सीको बीउसहित एक ट्रक नियन्त्रणमा लिइनुका साथै दुई जनालाई पक्राउ गरिएको छ।
एसएसबी ७१औँ बटालियन मोतिहारी अन्तर्गतको इन्टेलिजेन्स शाखालाई प्राप्त गोप्य सूचनाका आधारमा यो अपरेशन सञ्चालन गरिएको थियो। सूचनाअनुसार नेपालतर्फको बारा जिल्लाको सिम्रौनगढ,कवही र रौतहटको बन्कुलबाट मोटरसाइकलमार्फत बीउ भारतको सीमावर्ती क्षेत्रमा पुर्याई एकै ठाउँमा संकलन गरी ट्रकमार्फत अन्यत्र पठाउने योजना बनाइएको थियो।
एसएसबीका प्रवक्ता विनीत कुमार सिंह का अनुसार बीउ भारतको बसवरिया गाउँ (घोडासहन थाना क्षेत्र) मा जम्मा गरी यूपी ४२ ईटी ७८६२ नम्बरको ट्रकमा लोड गरिँदै थियो। त्यसपछि डाइरेक्टोरेट अफ रेवेन्यू इन्टेलिजेन्स (DRI), मुजफ्फरपुरसँग समन्वय गरी संयुक्त टोली परिचालन गरिएको थियो।
संयुक्त टोलीले सीमा स्तम्भ नं. ३५७ आसपास निगरानी बढाउँदै भारततर्फको लक्ष्मीपुर लौखन नजिक घोडासहन–ढाका सडकखण्डमा ट्रकलाई रोकेको थियो। बुधबार राति करिब १० बजे नियन्त्रणमा लिइएको उक्त ट्रकबाट चालक र सहचालकलाई पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानमा ट्रकमा फर्सीको बीउ लोड गरी दिल्लीतर्फ लैजाँदै गरेको स्वीकार गरिएको छ। सुरक्षाको दृष्टिले ट्रकलाई एसएसबी क्याम्पमा राखिएको थियो भने बिहीबार बिहान थप अनुसन्धानका लागि डीआरआई कार्यालय, मुजफ्फरपुर पठाइएको जनाइएको छ।
पक्राउ पर्नेमा उत्तर प्रदेश फैजाबादका ३५ वर्षीय मोहम्मद हसिब र बाराबंकीका ३१ वर्षीय मोहम्मद सलमान रहेका छन्। ट्रकबाट ३०० बोरा फर्सीको बीउ बरामद भएको छ, जसको कुल तौल ११ हजार ५ सय ५० किलोग्राम रहेको छ। भारतीय बजार मूल्यअनुसार यसको अनुमानित मूल्य ३६ लाख ९६ हजार रुपैयाँ (नेपाली करिब ६० लाख) रहेको बताइएको छ।
यस घटनाले नेपाल–भारत सीमामा अवैध कृषि वस्तु तस्करी संगठित रूपमा भइरहेको संकेत गरेको छ भने सुरक्षा निकायले यस्ता गतिविधिविरुद्ध थप कडाइ गर्ने जनाएको छ।






