मुख्य सचिवसँग भेटवार्ता: अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको हक–अधिकार सुनिश्चित गर्न संघको गम्भीर ध्यानाकर्षण

मुकेश कुमार मेहता, साउन २१ गते, २०८२।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको तर्फबाट आज संघका केन्द्रीय संयोजक श्री काशीराज श्रेष्ठको नेतृत्वमा र संघका इन्चार्ज श्री भोपाल रसाइलीको उपस्थितिमा मुख्य सचिवज्यू समक्ष गम्भीर ध्यानाकर्षण गराइएको छ।

राष्ट्रिय सम्मेलन कार्यालय टिमका सदस्य, राष्ट्रिय सम्मेलन आयोजक कमिटीका पदाधिकारी, विभागीय अध्यक्षहरू तथा आमन्त्रित सदस्यहरूको सहभागितामा भएको यो भेटवार्तामा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको हक र अधिकार सम्बन्धी विविध मागहरू प्रस्तुत गरिएका थिए।

🔷 उठाइएका मुख्य मागहरू:

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेशीकरण।

महंगी भत्ता, उपदान र सेवा–सुविधा सुनिश्चितता।

दरबन्दी सिर्जना गरी स्थायी दरबन्दीअन्तर्गत करारमा नियुक्ति।

संघले स्पष्ट रूपमा उल्लेख गरेको छ कि देशभर कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू अहिले पनि बिना सेवा–सुविधा कार्यरत रहन बाध्य छन्, जुन असमानता र अन्यायपूर्ण व्यवहारको प्रतीक हो।

मुख्य सचिवज्यूले संघद्वारा उठाइएका मुद्दाहरूलाई गम्भीरतापूर्वक सुन्नुहुँदै,

विगतका प्रगतिहरूलाई निरन्तरता दिइने,

सामाजिक सुरक्षा कोषको कार्यान्वयन,

महंगी भत्ता र उपदानका विषयहरू छलफलमार्फत टुंगोमा पुर्‍याइने भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साथै, ज्यालादारी कर्मचारीहरूले कुनै पनि सेवा सुविधा नपाइरहेको विषयमा चासो व्यक्त गर्दै पुनः छलफल गरी अगाडि बढ्ने आश्वासन दिनुभयो।

संघले देशभरका सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीज्यूहरूलाई
“एकता नै बल हो” भन्ने मूल मन्त्रमा
सहकार्य, सहमति र संगठित संघर्षमार्फत हक–अधिकार प्राप्तिका लागि लामबद्ध हुन आग्रह गरेको छ।

२०८१ साल माघ ११ गते सम्पन्न छवटा राष्ट्रिय निजामती कर्मचारी संगठनहरूसँगको संयुक्त बैठक निर्णयअनुसार सबै संघ–संगठनहरूलाई सहयोग र सहकार्यको भावनासाथ माग मुद्दामा छलफल गर्न आग्रह गरिएको छ।

सरकारी सेवा प्रणालीको मेरुदण्डको रूपमा रहेका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको अवस्था सुधारका लागि सरकारले गम्भीरता देखाउनुपर्ने संघको स्पष्ट भनाइ रहेको छ।
संघले यस अभियानलाई अझ व्यापक बनाउँदै सम्बन्धित निकायहरूसँग निरन्तर वार्ता र दबाबको कार्यक्रम जारी राख्ने जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close