अबैध लागु औषध गाँजासहित मोटरसाइकल नियन्त्रणमा

कलैया,बैशाख ५ गते ।
प्रहरीले बाराको अमलेखगञ्जमा ११ किलो ५१ ग्राम प्रतिबन्धित लागु औषध गाँजा सहित एक मोटरसाइकललाई शुक्रबार नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुर सिमरा उप–महानगरपालिकावडा नं.२१ स्थित ईलाका प्रहरी कार्यालयको पुर्व तर्फको छठीमाई घाट स्थित खोला छेउको कच्ची सडकबाट उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको हो।
विशेष सूचना अनुसार २२० सि.सि.को रातो,कालो पल्सर मोटरसाइकलमा लागु औषध गाँजा बोकी गईरहेको भन्ने आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी बरिष्ट नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिइएको प्रहरी टोलीले ना ४१ प ६२४१ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाइकललाई नियन्त्रणमा लिएको हो।
मोटरसाइकललाई प्रहरी टोलीले रोक्न खोज्दा नाम थर वतन नखुलेका २ जना मानिसहरु मोटरसाइकल छोडी जंगल तर्फ भागेका थिए।
मोटरसाइकलाई चेकजाँच गर्दा २ (दुई) वटा ब्याग भित्र २ वटा पोकामा रातो प्लाष्टीकको डोरीले बाधेको अवस्थामा अबैध लागु औषध गाँजा प्रहरीले फेला पारेको हो। फरार रहेको दुई जनाको खोजी भइ रहेको बारा प्रहरेर प्रवक्ता डिएसपी बिजयराज पण्डितले जानकारी गराए ।






