भारततर्फ कडाइ, नेपालतर्फ फितलो निगरानी: बाराको सिमानामा तस्करी सञ्जाल ‘सिफ्ट’ भएको संकेत

बारा,बैशाख २० । मधेश प्रदेशअन्तर्गत बारा जिल्लाको सीमाक्षेत्रमा तस्करी गतिविधि घटेको होइन, बरु “स्थानान्तरण” भएको संकेत देखिएको छ। पछिल्ला घटनाक्रमले भारतीय पक्षमा कडाइ बढ्दै जाँदा तस्करहरूको गतिविधि नेपालतर्फ थप संगठित र निर्बाध रूपमा फैलिँदै गएको देखिन्छ । 
सीमापारबाट बरामद भइरहेका गाँजा, हुण्डी रकम तथा अन्य अवैध सामग्रीका अधिकांश घटना भारतीय सुरक्षा निकायबाट सार्वजनिक भइरहेका छन्। बसवरिया–कचोर्वा नाकाबाट भारततर्फ लैजाँदै गरिएको गाँजा नियन्त्रणमा लिइनु, सन्तगञ्ज–कवही गोठ क्षेत्रबाट अवैध सामग्रीसहित पक्राउ पर्नु तथा महुअवा–अगरवा नाकाबाट हुण्डी रकमसहित व्यक्तिहरू समातिनुले भारतीय पक्षको निगरानी सक्रिय रहेको देखाउँछ। तर, त्यही सामग्री नेपालतर्फबाट सहजै सिमाना पार गरेको तथ्यले नेपालतर्फको सुरक्षामा कमजोरी रहेको आशंका उब्जाएको छ।
स्थानीयवासीका अनुसार कचोर्वा, बसवरिया, महुआही, पिपरपाती, बेलदारी र बैरिया लगायतका नाकाबाट दैनिक रूपमा मोटरसाइकलमार्फत सामान ओसारपसार भइरहेको छ। छ्तव–मुसहरवा क्षेत्रमा देखिएको मोटरसाइकल लस्करको दृश्यले तस्करी आकस्मिक नभई योजनाबद्ध रूपमा सञ्चालन भइरहेको संकेत दिन्छ। बिहानदेखि रातिसम्म “लाइन क्लियर” गरेर सामग्री भित्र्याउने र बाहिर पठाउने काम भइरहेको दाबी गरिएको छ।
तस्करीको रुट पनि व्यवस्थित रूपमा विकास गरिएको देखिन्छ। सीमाबाट भित्र्याइएका सामानहरू पिपरपाती र बेलदारी नाका हुँदै भित्र्याई, बैरिया–रामनगर–बलधुस्वा क्षेत्र पार गर्दै कुडवा र कोतवाली आसपासका गोदाममा भण्डारण गरिन्छ। त्यसपछि पिकअप, मोटरसाइकल वा साना सवारीमार्फत विभिन्न चरणमा रकम बुझाउँदै कलैया हुँदै काठमाडौंसम्म ढुवानी हुने गरेको स्रोत बताउँछ।
यसबीच, सिम्रौनगढ क्षेत्रबाट तस्करी भई आएको तोरी र दाल बोकेको पिकअप गाडी मौलापुरमा नियन्त्रणमा लिइनु तथा यसअघि पनि बरामद सामग्री “वेवारिसे” घोषणा गरिएका घटनाले नियन्त्रण प्रयास प्रभावकारी नभएको संकेत गर्छ। स्थानीयका अनुसार प्रहरीकै निगरानी क्षेत्र नजिक रहेका गोदामहरूमा समेत गतिविधि चलिरहँदा नियन्त्रणमा गम्भीरता अभाव देखिएको छ। 
मटिअर्वा छोटी भन्सारसँग जोडिएको विवादमा सशस्त्र प्रहरीका एक अधिकृत तानिनु अर्को संकेतका रूपमा हेरिएको छ, जसले आन्तरिक अनुशासन र समन्वयमै चुनौती रहेको देखाउँछ।
यद्यपि, सुरक्षा निकायले खुला सिमाना, सीमित जनशक्ति र भौगोलिक जटिलतालाई मुख्य समस्या बताउँदै ‘सेटिङ’का आरोप अस्वीकार गरेका छन्। तर स्थानीयले भने सूचना दिँदा समेत तत्काल कारबाही नहुने, बरु तस्करले मार्ग परिवर्तन गरेर गतिविधि निरन्तरता दिने गरेको गुनासो गर्छन्।
समग्रमा, भारतीय पक्षमा कडाइ बढेसँगै तस्करी सञ्जालले नेपालतर्फ आफ्नो पकड मजबुत बनाएको संकेत देखिँदा बारा–रौतहट क्षेत्रको सीमासुरक्षा, राजस्व संकलन र कानुनी व्यवस्थामाथि थप चुनौती थपिएको छ। स्थानीयले प्रभावकारी अनुगमन, पारदर्शी कारबाही र सुरक्षा संयन्त्रको पुनर्संरचनाको माग गरेका छन्।





