सही सूचना बिना विदेश जाँदा ‘जोखिम’, श्रम स्वीकृतिसँगै खुल्छ सरकारी सुरक्षा कवच

कलैया — वैदेशिक रोजगारीमा जाने युवाहरू ठगी, दुर्घटना र मृत्युका घटनामा बढ्दो रूपमा फसिरहेकै बेला कलैयामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा “सही प्रक्रिया अपनाए मात्रै सरकारले दिने सुविधा पाइने” सन्देश जोडदार रूपमा उठाइएको छ।
कलैया उपमहानगरपालिका तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीलाई केवल आम्दानीको माध्यम नभई जोखिमपूर्ण यात्राका रूपमा चित्रण गर्दै श्रम स्वीकृति, सीप र कानुनी प्रक्रियाको महत्वबारे सचेतना दिइएको हो।
कार्यक्रममा बोल्दै बिनोद साह ले वैदेशिक रोजगारीमा जाने युवाले हतारमा निर्णय नगरी आधिकारिक सूचना लिएर मात्र अघि बढ्नुपर्ने बताए। उपप्रमुख रौशन प्रविण ले सीप र कानुनी प्रक्रिया बिना विदेश जाँदा नेपाली कामदारहरू ठगी र समस्यामा पर्ने गरेको उल्लेख गरिन्।
अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले पनि वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न मिडियाले जनचेतनामूलक सामग्रीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। नेपाल पत्रकार महासंघ बारा शाखा का उपाध्यक्ष पन्नालाल दास ले “सही सूचना बिना विदेश जानु आफैं जोखिम निम्त्याउनु हो” भन्दै श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरे।
कार्यक्रममा प्रस्तुत तथ्यांक र जानकारीअनुसार श्रम स्वीकृति लिएर विदेश गएका कामदारको मृत्यु भए वैदेशिक रोजगार बोर्डबाट १० लाख रुपैयाँ आर्थिक सहायता र बीमामार्फत थप १० लाख रुपैयाँसम्म उपलब्ध हुने व्यवस्था रहेको छ। यस्तै, शव नेपाल ल्याउनेदेखि परिवारलाई सहजीकरण गर्ने जिम्मेवारीसमेत सरकारले लिने जानकारी दिइयो।
मृतक कामदारका बालबालिकालाई छात्रवृत्ति, अंगभंग वा गम्भीर घाइतेलाई राहत तथा घातक रोग लागेमा आर्थिक सहायता उपलब्ध हुने व्यवस्था पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो।
कार्यक्रममा अझै पनि गाउँस्तरमा ‘एजेन्ट’मार्फत ठगी भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्रमा उजुरी गर्न आग्रह गरिएको थियो। सरकारले २०७६ सालमै एजेन्ट प्रणाली खारेज गरे पनि व्यवहारमा अवैध बिचौलियाको प्रभाव कायम रहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए।
सामी कार्यक्रमका संयोजक सरोज सिंह ले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन स्थानीय तह, सञ्चारमाध्यम र समुदायबीच सहकार्य आवश्यक रहेको बताए। कार्यक्रम सञ्चालन परामर्शदाता रामबाबु सिंहले गरेका हुन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close