समाजवादी प्रेस सङ्गठन पर्साको सम्मेलन माघ १२ गते हुने

वीरगञ्ज – समाजवादी प्रेस सङ्गठन नेपाल पर्साको कार्य समिति बैठक आइतबार वीरगञ्जमा सम्पन्न भएको छ । सङ्गठन पर्साका सचिव अजय चौरसियाको अध्यक्षतामा बसेको बैठकले यही माघ १२ गते जिल्ला सम्मेलन गर्ने सर्व सहमतिबाट निर्णय गरेको छ ।

बैठकले जिल्ला सम्मेलन तयारीको लागि सङ्गठनका वरिष्ठ कार्य समिति सदस्य आशमहम्मद मियाँको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति समेत गठन गरेको छ । आयोजक समितिको सदस्यहरूमा श्रीराम रौनियार, दीपेन्द्र गिरी, रञ्जित चौरसिया, दिपक कुशवाह, राम अनुप यादव, रामेश्वर चौरसिया, जय कुमार यादव, दिपक चौरसिया, राकेश कुमार जयसवाल लगायत रहेका छन् ।
यसका साथै माघ १० गते भित्र सङ्गठन पर्साका सदस्यहरूको सदस्यता नवीकरण तथा इच्छुक श्रमजीवी सञ्चारकर्मीहरूलाई नयाँ सदस्यता वितरण गर्ने बैठकले निर्णय गरेको छ । त्यसको सम्पूर्ण जिम्मेवारी सम्मेलन आयोजक समितिका संयोजक आशमहम्मद मियाँलाई दिने निर्णय भएको छ ।
बैठकले सङ्गठनका महासचिव रामकुमार ऐलन माथि कारबाहीको माग गरेको छ । ऐलनले समाजवादी पर्सा सङ्गठनलाई जानीजानी गुट–उपगुटमा विभाजित गर्दै आएको र विशेष अदालतले उनलाई भ्रष्टाचारी समेत ठहर गरिसकेकोले उनी महासचिव जस्तो पदमा रहँदा सङ्गठनको प्रतिष्ठामाथि नै असर पर्ने निष्कर्ष निकाल्दै उनलाई कारबाही गरी महासचिव पदबाट पदमुक्त गराउन सङ्गठनका केन्द्रीय समिति, केन्द्रीय प्रचार विभाग र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय नेतृत्वसँग माग गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा पार्टीका सचिवालय सदस्य राघव साह, पार्टी र युवा सङ्गठनका सचिवालय सदस्य एवम् युवा फाँट प्रमुख अनिल पटेल, पार्टीका जिल्ला कमिटी सदस्य एवम् नेपाल खेलकुद महासङ्घ समाजवादीका केन्द्रीय सदस्य आकाश पटेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन समाजवादीका पर्सा अध्यक्ष मेवालाल साह लगायतको विशेष उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close