सिम्रौनगढ नगरपालिकाको वेबसाइट अपडेट नहुँदा पारदर्शितामाथि प्रश्न, सवारी साधन खर्च पनि अस्पष्ट

सिम्रौनगढ — सिम्रौनगढ नगरपालिकामा सूचना प्रविधि (आईटी) तर्फ कर्मचारी हुँदाहुँदै पनि नगरपालिकाको दैनिक कामकाज सम्बन्धी विवरण आधिकारिक वेबसाइटमा नियमित रूपमा अद्यावधिक नहुँदा पारदर्शिता र सुशासनमाथि प्रश्न उठेको छ। नगरपालिकाले सञ्चालन गर्ने कार्यक्रम, निर्णय, योजना तथा दैनिक गतिविधिको विवरण सार्वजनिक नहुँदा नागरिकहरू सूचना अभावमा बस्न बाध्य भएका छन्। 
स्थानीयवासीका अनुसार नगरपालिकाको वेबसाइट लामो समयदेखि अपडेट नहुँदा जनप्रतिनिधि र कर्मचारीहरूको कामकाजबारे स्पष्ट जानकारी पाउन कठिन भएको छ। यो विषय प्रत्यक्ष रूपमा सुशासन, पारदर्शिता र जवाफदेहितासँग सम्बन्धित भएकाले समयमै ध्यान दिनुपर्ने माग उठेको छ।
त्यस्तै, नगरपालिकासँग रहेका सवारी साधनहरूको प्रयोग र त्यससँग सम्बन्धित खर्चबारे पनि स्पष्ट विवरण सार्वजनिक नभएको भन्दै चिन्ता व्यक्त गरिएको छ। नगरपालिकासँग रहेका विभिन्न सवारी साधनहरूको प्रयोग कसरी भइरहेको छ, कुन प्रयोजनका लागि प्रयोग गरिन्छ, र तिनबाट हुने सेवा वा आम्दानीबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
दैनिक रूपमा इन्धन खर्च भइरहे पनि कुन गाडीमा कति इन्धन प्रयोग भयो, कुन कामका लागि प्रयोग गरियो भन्ने विवरण खुलाइएको छैन। यस्ता विवरणहरू सार्वजनिक नहुँदा खर्चको पारदर्शिता र प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।
स्थानीय नागरिकहरूले नगरपालिकाले डिजिटल प्रणालीलाई प्रभावकारी रूपमा प्रयोग गर्दै वेबसाइट नियमित अद्यावधिक गर्नुपर्ने, दैनिक वा साप्ताहिक कामकाजको विवरण सार्वजनिक गर्नुपर्ने र सवारी साधन तथा इन्धन खर्चको स्पष्ट अभिलेख सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
उनीहरूका अनुसार यस्ता विवरणहरू पारदर्शी रूपमा सार्वजनिक गरिए नागरिकहरूले सहज रूपमा अनुगमन गर्न सक्ने, भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने र सेवाप्रवाहमा सुधार आउने विश्वास व्यक्त गरिएको छ।
पारदर्शिता र जवाफदेहिता नागरिकको अधिकार भएको उल्लेख गर्दै सरोकारवालाहरूले अब नगरपालिकाले डिजिटल प्रणालीलाई प्रभावकारी रूपमा प्रयोग गरी जनताप्रति उत्तरदायी बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।






