बारामा जुवातास खेलिरहेका नेता तथा कार्यकर्ता सहित १३ जना रंगे हाथ पक्राउ

रामबाबु मेहता,भदौ ८ । जिल्ला प्रहरी कार्यालय बाराले जुवातास खेलिरहेका १३ जनालाई रंगे हाथ पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा छापामारी गर्दा जुवातास खेल्ने १३ जनालाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले महागढीमाइ नगरपालिका वाडा नम्बर १ स्थित बरियापुर गाउँको मोतीलाल प्रसादको घरमा छापामारी मार्दा १३ जना जुवाडीलाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जनाए ।
प्रहरीले छापामारी गरी जुवातास खेलिरहेको अवस्थामा वाडा नं १ का अन्दाजी ५० वर्षिय बिनोद प्रसाद, सोही ठाउँका वर्ष ५३ को राजेन्द्र साह, वर्ष ५३ को मोतिलाल प्रसाद, वर्ष ४३ को मनोज प्रसाद कुशवाहा, वर्ष ६० को जतिकर हुसेन, ४० को मोतिलाल कुशवाहा, ४३ वर्षिय राजु कुशवाहा, ५० वर्षिय अच्छेलाल महतो, ५९ वर्षिय कस्तुरी साह, महागढीमाइ वाडा नम्बर २ बस्ने ३८ वर्षिय राजकिशोर प्रसाद कुशवाहा, ४१ वर्षिय जितेन्द्र तिवारी, ४८ वर्षिय सुकदेव यादव र वाडा नम्बर ८ बस्ने ३५ वर्षिय मुस्ताक खान पैठानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु मध्ये केही नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट १ लाख ७१ हजार २ सय ८० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेकाहरुमाथि मुल्की फौजदारी ऐन २०७४ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने अनुशास कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ ।
मुल्की फौजदारी ऐन २०७४ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्ने ब्यक्तिलाई पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिना सम्म कैद वा ३० हजार रुपौयाँ सम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।
यस्तै दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्ष सम्म कैद र पचास हजाररुपौयाँ सम्म जरिवाना हुने र त्यसपछिको सोही कसुरमा पटैकै पिच्छे थप ३ महिना सम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने ब्यवस्था रहेको छ ।







